उनीहरुकै भाषाशैलीमा भोट माग्ने सागरको यो काइदाले गाउँलेहरुको मन छुदै

सहयात्रा टिभी

काठमाडौँ । कातिक २८, प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा उम्मेदवारी दिएर चर्चामा आएका युवा सागर ढकाल कहिले धर्मकर्म गरेर, कहिले उपवास बसेर, अनि कहिले स्वयं प्रतिद्वन्द्वी देउवाको स्वागत कार्यक्रममा लाइन लागेर चर्चा-विवादमा आइरहन्छन् । यसपालि भने उनले उनीहरुकै भाषाशैलीमा भोट माग्ने  रमाइलो काइदा विकास गरेका छन् ।

‘तम्रा साथी देउवाले तमीलाई धोका दिया, तम्रा छोराले पनि तमीलाई धोका दिया । अब तम्रो नाति बाँकी छ । बाजे-नातिको सम्बन्ध मायाको सम्बन्ध,’ गुल्मीबाट चुनाव लड्न सुदूरपश्चिमको दुर्गम अजयमेरु गाउँपालिका ६ देवलका ७८ वर्षीय एक स्थानीयलाई उनले सम्झाउँदै भनेका छन् ।

प्रधानमन्त्री देउवाले ०४८ यता अविच्छिन्न जित्दै आएको क्षेत्रमा जनताको दुर्दशा के छ भन्नेबारे सागर उनीहरुकै भाषाशैलीमा सम्झाइरहेका छन् । अक्सफोर्ड विश्वविद्यालयमा पढी केही अन्तर्राष्ट्रिय संस्थामा काम गरेर नेपाल आएका सागरले अपनाएको यो काइदाले गाउँलेहरुको मन छोइरहेको रहेछ ।

प्रायः उम्मेदवारहरु घरदैलो नाम दिएर पनि गाडीबाट नओर्ली हुटमा उभिएर भाषण गरिराखेका खबर सार्वजनिक भइराख्दा सागरले निकालेको भोट माग्ने जुक्ति रमाइलो प्रतीत हुन्छ ।

सागरका सहयोगी अमर नेपालीले बाहिरबाट डडेलधुरा पुगेको युवालाई स्थापित दलका उम्मेदवारभन्दा भिन्नै किसिमले मतदाताले व्यवहार गरिरहेको बताए ।

डडेलधुरामा देउवाविरुद्ध कांग्रेस बीपीका कर्णबहादुर मल्ल प्रतिष्पर्धामा छन्, जसलाई एमालेले साथ दिने घोषणा गरेको छ । सागरलाई भने राष्ट्रिय स्तरमा चर्चित कलाकार लगायतले नैतिक समर्थन गरेका छन् । उनी सुई चुनाव चिह्न लिएर प्रतिनिधिसभातर्फ प्रतिस्पर्धाको मैदानमा खडा छन् ।

प्रकाशित : 14 November, 2022

प्रतिक्रिया दिनुहोस्