राष्ट्रिय स्वतन्त्र पार्टीको परिणाम कस्तो आउला आमचासोमा

काठमाडौं । कातिक २९, सत्तारुढ र विपक्षी गठबन्धनमा बाँडिएर दलहरु चुनावी प्रतिस्पर्धामा होमिदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत आमचासोमा छ ।
पार्टी गठनको चार महिनाभित्रै १६५ मध्ये १३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको यो पार्टीप्रति मुख्य दलका शीर्ष नेताहरुले चुनौती महसुस गरेको देखिन्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त लामिछानेविरुद्ध सार्वजनिक मञ्चमै आक्रामक बन्ने गरेका छन् । अन्य दलका नेताहरु पनि लामिछानेसहित स्वतन्त्रको नारा लगाइरहेका उम्मेदवारको आलोचनामा उत्रिएका छन् ।
टेलिभिजन प्रस्तोता त्यागेर ७ असारमा पार्टी गठन गरेका लामिछानेले भने सरकारकै नेतृत्व गर्ने दाबी गरिरहेका छन् । उनको पार्टीका नेताहरुले भने प्रत्यक्षतर्फ १५ सिटसम्म जित्ने र समानुपातिकतर्फ त्यो भन्दा राम्रो नतिजा ल्याउने बताउने गरेका छन् ।
स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरुले ल्याएको नतिजाबाट हौसिएर पार्टी खोलेका लामिछानेले कस्तो परिणाम ल्याउँछन् भन्ने देख्न भने अब पाँचदिन कुर्नु पर्नेछ ।