कप्तान रोहित सहित क्रिकेट टिम नामिबियाको लागि तयारी

सहयात्रा टिभी

काठमाडौं । कातिक २९, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार रोहित कुमार पौडेलले युएई विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा कप्तानी डेब्यु गरे ।

तर घरेलु मैदान र केही हजार घरेलु समर्थकको अगाडि नेपालले सुखद नतिजा ल्याउन सकेन । तीन खेलको शृखंलाको पहिलो खेलमा नेपाल युएईसँग ८४ रनको फराकिलो अन्तरले पराजित भयो । जितपछि युएईले शृंखलामा अग्रता बनायो ।

रोहित मात्र होइन युएईका सीपी रिजवानले पनि ओडीआईमा कप्तानी डेब्यु यसै खेलबाट गरे । उनले अष्ट्रेलियामा भर्खरै सम्पन्न टी-२० विश्वकपमा युएईको कप्तानी गरेका थिए ।

तर डेब्युमा रोहितको प्रदर्शन बिर्सनलायक रह्यो । रोहित १ रनमै आउट भए । युएईका कप्तान रिजवान पनि २ रनमै आउट भए । तर उनको टिमले खेल जित्यो ।

रोहितको ओडीआई कप्तानी डेब्युमा व्यक्तिगत र टिमको प्रदर्शन दुवै सुखद भएन । उनले पावर प्ले मै सुरुवाती ३ विकेट झर्नु हारको मुख्य कारण रहेको प्रतिक्रिया दिए । ४ विकेट गइसकेपछि अर्जुन र दीपेन्द्रको साझेदारीले नेपालको आशा देखाए पनि उनीहरु आउट भएपछि नेपालको जित्ने सम्भावना टाढिएको थियो ।

यस्तै पावर प्लेमा पनि नेपालले युएईको विकेट झार्न सकेन । टस जितेर फिल्डिङ रोजेको नेपालले पावर प्लेलाई कन्डिसन अनुसार सही प्रयोग गर्न नसकेको रोहितको भनाइ थियो ।

नामिबियामा अर्को महिला लिग टु खेल्नुअघि राम्रो कम्बिनेसन मिलाउनका लागि युएई विरुद्धको तीन खेलमा सबैलाई अवसर दिएर हेर्ने नेपालको रणनीति रहेको रोहितले बताए ।

युएईका कप्तान रिजावन भने कप्तानको रुपमा ओडीआईमा पहिलो जितपछि खुशी देखिए । नेपालको समर्थक अगाडि खेल्नु पाउँदा उनी झन् खुशी थिए । आफ्नो टिमको ब्याटिङको प्रशंसा गर्दै उनले ब्याटिङको यही लय अर्को खेलमा पनि कायम राख्नुपर्नेमा जोड दिए । युएईका प्रशिक्षक रोविन सिंहले चाँडै विकेट लिन सक्नु फाइदा भएको बताए ।

प्रकाशित : 15 November, 2022

प्रतिक्रिया दिनुहोस्