सात सूत्रीय माग अघि सार्दै स्वतन्त्र उम्मेदवार डा.सचिन घिमिरे अनशनमा

सहयात्रा टिभी

काठमाडौं । कातिक २९, ललितपुर क्षेत्र नं. १ का उम्मेदवार डा. सचिन घिमिरेले आमरण अनशन शुरु गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घिमिरेले सात सूत्रीय माग अघि सार्दै गोदावरीको टाखेलमा मंगलबारदेखि अनशन शुरु गरेका हुन् ।

ललितपुर-१ का निवर्तमान सांसदले आफ्नो कार्यकालमा बजेट ल्याएर विकास निर्माणको काम गरेको भनी दावी गरेकाले अघिल्लो कार्यकालमा सांसदको पहलमा आएको बजेटको आय-व्यय विवरण सार्वजनिक हुनुपर्ने उनको मुख्य माग छ ।

उनले गोदावरी नगरपालिकामा एक महिनाभित्र बाँदर व्यवस्थापन हुनुपर्ने माग समेत राखेका छन् । ललितपुरको चौघरेका दुई विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेको र उनीहरुलाई आर्थिक अभाव भएकाले स्थानीय सरकारले उनीहरुको माग पूरा गरिदिनुपर्ने उनको अर्को माग छ ।

घिमिरेले गोदावरी नगरपालिकाका किशोरीहरुलाई अहिले आइरन चक्की बाँड्ने काम भइरहेको र त्यसको जनस्वास्थ्य औचित्य प्रमाणित गर्नुपर्ने मागसमेत राखेका छन् ।

उनले कोञ्ज्योसोम र माल्टाका दुई रोगीको उपचारको माग गरेका छन् । साथै आश्राङ गाउँका दुई बालबालिकाको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको लालनपालन र शैक्षिक व्यवस्थापनको माग गरेका छन् । गोदावरीको टाखेल चौतारो नजिकै पिपलको रुखको हाँगाले ट्रान्सफर्मर छोएकाले रुखको हाँगा काट्नुपर्ने उनको अर्को माग छ ।

 

प्रकाशित : 15 November, 2022

प्रतिक्रिया दिनुहोस्