चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

सहयात्रा टिभी

काठमाडौ । म‌‌‌‌‌‍‌ंसिर १,  आज (बिहिबार) राति १२ बजेबाट निर्वाचनको ‘स्थिर समय’ सुरू हुँदैछ ।

अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ सुरु भएपछि दल तथा उम्मेदवारहरूले निर्वाचनकाे प्रचारप्रसार गर्न पाउने छैनन् । बिहिबार दिनभर उम्मेदवारहरू प्रचारप्रसारको अन्तिम कसरतमा जुटिरहेकाे छन् । निर्वाचन आयोगले मंसिर ४ अघिको ‘स्थिर समय’ मा प्रचारप्रसार लगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।

बिहिबार राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसार भण्डारीले ४ मंसिरको ४८ घण्टा अघिदेखि ‘स्थिर समय’ लागू गरिएको जानकारी दिए । निर्वाचन कसुर तथा सजाय ऐन अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि निर्वाचनकाे प्रचार लक्षित कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।

यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइएमा ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।

 

प्रकाशित : 17 November, 2022

प्रतिक्रिया दिनुहोस्