सोलुखुम्बुमा आचारसंहिता उल्लङ्घन गर्ने चार जनप्रतिनिधिलाई आयोगको स्पष्टीकरण

सहयात्रा टिभी

सोलुखुम्बु । मंसिर १, सोलुखुम्बुका चार जनप्रतिनिधिलाई जिल्ला आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घनबारे परेको उजुरीका आधारमा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पा र उपाध्यक्ष टासी ल्हामु शेर्पालाई समितिले लिखित स्पष्टीकरण सोधेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थुलुङ दुधकोशी गाउँपालिका र माप्यदुधकोशी गाउँपालिका अध्यक्षहरुले स्पष्टीकरण पेस गरिसकेका छन् भने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पेस गर्न बाँकी रहेको छ ।

माप्य दूधकोशी गाउँपालिका अध्यक्षले कात्तिक २३ गते र थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षले कात्तिक २५ गते लिखित जवाफ पेस गरेका हुन् । चारै जनाको जवाफ प्राप्त भएपछि आयोगमा पठाइने जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक समेत रहेका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले बताए।

थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिका अध्यक्ष विरुद्ध पालिका क्षेत्रको चुनावी सभामा भोट मागेको र खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले निर्वाचन आचारसंहिता लागू भइसकेपछि मतदातालाई प्रभावित पार्ने गरी खानेपानी र विद्युत् सर्वेका लागि प्राविधिक खटाएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

प्रकाशित : 17 November, 2022

प्रतिक्रिया दिनुहोस्