विप्लवका कार्यकर्ताले आफ्नै कोठामा लुकाएर राखेको बम विष्फोट हुँदा २ घाइते

काठमाडौ । मंसिर १, बाँकेको नेपालगञ्जस्थित भृकुटीनगरको एक घरमा डेरा गरी बस्ने विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले लुकाएर राखेको बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।
बुधबार बेलुकी दिवाकर र श्रीकला मल्लको घरको तल्लो तलामा बम विष्फोट भएको हो । बम विष्फोट हुँदा डेरा गरी बस्ने सल्यानको बागचौर नगरपालिका–२ घर भएका २७ वर्षीय डिल्लीबहादुर डीसी र उनका साथी कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका ३३ वर्षीय धर्मबहादुर सुनार घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर छ ।
उनीहरुको उपचार नेपालगञ्ज नर्सिङहोमको आईसीयूमा राखेर भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
उनीहरुको कोठाबाट चन्दा संकलनका लागि प्रयोग गरिएको रसिद र पार्टीको ब्यानर समेत बरामद भएको छ । प्रहरीका अनुसार ५ हजारदेखि ५० हजार रुपैयाँसम्म चन्दा रसिद कटाएको पाइएको छ ।