विश्वकपः चार टीमले अंक बाँड्दा फ्रान्सको उत्कृष्ट जीत

काठमाडौं । मंसिर ७, कतार विश्वकप २०२२ अन्तर्गत मंगलबार खेलिएका चार खेलमध्ये दुई खेल बराबरीमा टुंगिएका छन् भने दुई खेलमा नतिजा निक्किएको छ ।
मंगलबारको पहिलो खेलमा अर्जेन्टिनालाई साउदी अरबले २–१ स्तब्ध बनाएको थियो । दोस्रो खेलमा डेनमार्क तथा ट्युनिसियाले अंक बाँडे । शक्तिशाली डेनमार्क अफ्रिकी मुलुक ट्युनिसियासंग बराबरीमै रोकिन बाध्य भएको हो । यो खेलमा दुबै टोलीले केहि अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । डेनमार्क भने दुई पटक गोल गरेर पनि अभागी बन्यो । भारले दुबै गोललाई मान्यता दिएन । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो ।
मंगलबारको तेस्रो खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै कतार फिफा विश्वकपको थालनी गरेको छ । कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोवस्कीले पेनाल्टी खेर फालेपछि पोल्यान्ड अंक बाढ्न बाध्य भएको हो । लेवान्डोवस्कीले प्रहार गरेको पेनाल्टी मेक्सिकोका गोलकिपर गुलेर्मो ओचोआले बचाएका थिए ।
५८औं मिनेटमा हेक्टर मोरेनोले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीमा लेवान्डोवस्की सफल हुन सकेनन् । लेवान्डोवस्कीले राष्ट्रिय टोलीका लागि एक सय ३४ खेलमा ७६ गोल गरिसकेका छन् । तर, विश्वकपमा भने उनले पोल्यान्डका लागि अहिलेसम्म गोलको खाता खोल्न सकेका छैनन् ।
समूह ‘सी’ मा बराबरीपछि अंक बाढेका पोल्यान्ड र मेक्सिको तालिकामा दोस्रो र तेस्रो स्थानमा छन् । मंगलबार मध्य रातिको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै साविक विजेता फ्रान्सले अस्ट्रेलियामाथि ४–१ को पुनरागमन जीत निकालेको छ ।
दोहास्थित अल जानुब स्टेडियममा फ्रान्सको जीतमा ओलिभर जेरुडले दुई गोल गरेका थिए । यसैगरी एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरेका हुन् । अष्ट्रेलियाका क्रेग गुडविनले नवौंं मिनेटमा अग्रता दिलाएका थिए
खेलको २७औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १(१ गोलको बराबरीमा ल्याएका हुन् । ३२औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २ (१ को अग्रता दिलाए । ६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३(१ को अवस्थामा ल्याए । ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले सहज जित पायो ।
जीतसँगै समूह डी मा फ्रान्सले पहिलो खेलमा तीनअंक जोडेको छ । हारबाट विश्वकपको सुरुआत गरेको अष्ट्रेलिया पुछारमा छ ।