बाग्लुङबाट जनमोर्चाको चित्रबहादुर केसी विजयी

काठमाडौं । मंसिर ७, बाग्लुङ – राष्ट्रिय जनमोर्चाले बाग्लुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी सुरुवात गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
जनमोर्चाका केसीले २१ हजार ४ सय ५१ मत ल्याएर निर्वाचित हुनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङका अनुसार केसी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकभन्दा २ हजार ६ सय २६ को मतान्तरले विजय हुनुभएको हो । पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गर्नुभयो । केसी सत्तारूढ गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले ९ हजार १ सय ८१ मत प्राप्त गर्नुभएको छ । राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३, नेपाली कांग्रेस (वीपी)का शिवलाल सापकोटाले १ सय २५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १ सय ९३ मत प्राप्त गर्नुभयो ।