सेयर बजारमा एकल अंकको सामान्य सुधार
सहयात्रा टिभी
काठमाडौं । मंसिर १३, साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । मंगलबार बजार परिसूचक नेप्से २.९९ अंक (०.१५ प्रतिशत) ले वृद्धि भएर १९५३.३५ अंकमा बन्द भएको छ ।
गत बिहीबार र आइतबार लगातार दुई दिन बढेको नेप्से सोमबार भने दोहोरो अंकको गिरावट भएको थियो । मंगलबार नेप्सेमा सामान्य वृद्धि भएपनि बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमुलक, लगानी, निर्जीवन बीमा र ब्यापार उपसूचकमा गिरावट भएको छ ।
दिनभरजसो बजार परिसूचकमा उतारचढाव भएपनि कारोबार रकम भने मंगलबार घटेको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार पनि करिब डेढ अर्ब रहेको थियो ।
तर, आज मंगलबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । मंगलबार नेप्सेमा २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख ६० हजारको कारोबार भएको छ ।