नेपाली फिल्म फेस्टिभल गर्न बोर्डले एनआरएनएसँग सहकार्यको तयारी

काठमाडौं । मंसिर १३, चलचित्र विकास बोर्डले नेपालीको सघन बसोबास रहेको मुलुकमा फिल्म महोत्सव गर्ने भएको छ ।
नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले आगामी जनवरीमा फेस्टिभल गर्न लागिएको बोर्डले जनाएको छ । बेलायतको लण्डन वा अष्ट्रेलियाको कुनै सहरमा फेस्टिभल गर्ने तयारी भइरहेको छ ।
यद्यपि, आयोजनास्थल भने तय भइसकेको छैन । बोर्डको वार्षिक बजेटअन्तर्गत रहेर गर्न लागिएको फेस्टिभल आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य पनि गर्न सकिने जनाइएको छ ।
पछिल्लो समय अष्ट्रेलिया, अमेरिका, बेलायत र मध्यपूर्व लगायतका मुलुक नेपाली फिल्मका ठूला बजार हुन् । ‘कबड्डी ४’ले मात्र विदेशबाट १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो । अहिले अमेरिकामा महजोडीको ‘महापुरुष’ राम्रो चलिरहेको छ ।
नेपालमा अहिले चीन, युरोप, अफ्रिका, दक्षिण कोरिया, जापान लगायतका मुलुकले फिल्म फेस्टिभल आयोजना गरिरहेका छन् । यस्तै शैलीमा बोर्डले पनि विदेशी मुलुकमा फेस्टिभल आयोजनाको योजना अघि सारेको हो ।
विदेशमा कार्यक्रम आयोजनाका लागि बोर्डले एनआरएनए संस्थासँग सहकार्यको अपेक्षा राखेको संयोजक कटुवालले बताए ।