पाँच दिनदेखि सोलुखुम्बुका बासिन्दा टुकीको भरमा बस्न बाध्य

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १४, सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन् ।

महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीविहीन छ ।

महाकुलुङको वडा नं ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो ।

एक सय किलोवाट क्षमताको त्यो योजना अवरुद्ध भएसँगै त्यस क्षेत्रका बासिन्दा टुकीको भरमा बस्न बाध्य छन् । बिजुली नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी छन् ।

उनीहरुलाई पढ्न समस्या भएको छ । रेडियो तथा मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत वञ्चित भएको स्थानीय मनुहाङ किराँतीले बताउनुभयो ।

मेसिनको टर्वाइन पुल्लीमा खराबी आएको छ । विद्युत् सेवा पुनः सञ्चालन गर्न पहल भइरहेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणकुमार राईले बताउनुभयो । “बिग्रिएको मेसिन मर्मत गर्न काठमाण्डौ पठाएका छौँ, ढिलोमा एक हप्ताभित्र सेवा पुनः सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो ।

 

प्रकाशित : 30 November, 2022

प्रतिक्रिया दिनुहोस्