भरतपुर अस्पताल अस्तव्यस्त हुँदा बिरामीले चिकित्सक भेट्नै मुस्किल

काठमाडौँ । मंसिर १४, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ ।
पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ ।
अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको व्यवस्था छ । सम्भवतः नेपालमै सरकारी तहमा सबैभन्दा बढी सेवा र सुविधा यहीका चिकित्सक कर्मचारीले पाउँछन् ।
त्यही आएका बिरामी ल्याएर उपचार गर्ने गरी अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् । बिरामी र तिनका आफन्त निजीमा जान प्रेरित गर्ने उद्देश्यले अस्पतालमा कम भेट हुने, शल्यक्रियाका लागि लामो समयपछि मात्रै पालो आउने गरेको गुनासो बिरामीको छ ।
चिकित्सकमात्रै होइन, कर्मचारीहरू पनि हाजिर गरेर हिँड्ने गरेको सेवाग्राहीको गुनासो छ । विगत एक महिनाअघि परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउनका लागि सेवाग्राही चिकित्सकको पर्खाइमा छन् । उपचारका लागि दुई महिनामा तीन पटकसम्म अस्पताल आएको सेवाग्राहीको भनाइ छ ।
चिकित्सक कुरेर बस्नु पर्ने बाध्यता छ । अस्पतालमा आएका बिरामीले विशेषज्ञ चिकित्सकसमेत भेट्न कठिन हुने गरेको छ । चिकित्सक भेट्नका लागि वहिरङ्ग विभागमा आएका बिरामीलाई त्यहाँका कर्मचारीको छुद्र बोलीका कारण पीडित हुने गरेको गुनासो गर्छन् ।
विशेषज्ञ चिकित्सक हाजिर गरेर आफ्नो बहिरङ्ग सेवामा नबस्ने गरेको उनीहरूको गुनासो छ । उनीहरू हाजिर गरेर न बहिरङ्ग सेवामा हुन्छन् न त शल्यक्रियाकक्षमा नै हुन्छन् । एनेस्थेसिया र सर्जनका कारण बिरामीले लामो समय शल्यक्रियाको पालो कुर्नुपरेको बिरामी बताउँछन् ।
एनेस्थेसियाले दिउँसो १ बजेपछि काम नगर्दा समस्या बढ्दै गएको अस्पताल प्रशासन स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम आफूले चिकित्सक कर्मचारीले काम गरिरहेको मान्यता राख्ने बताए ।
गुनासोको विषयमा आफूले बुझ्ने भन्दै उहाँ कार्यालय समयमा काम नगर्ने चिकित्सक कर्मचारीलाई कारबाही गरिने जनाएको छ । अस्पतालमा हाल एक सय जना विशेषज्ञ चिकित्सक कार्यरत छन् ।
विगत केही वर्षअघि अस्पताल खस्केर अस्तव्यस्त भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं हालका गृहसचिव विनोदप्रकाश सिंहको नेतृत्वमा अस्पताल सुधार्ने अभियान थालिएको थियो । त्यसको प्रभाव केही वर्ष परेको अस्पतालका कर्मचारी बताउँछन् । पछिल्लो समय पुनः अस्पताल अस्तव्यस्त बनेको छ ।