क्यानडामा वातावरणकर्मीहरूको मोन्ट्रिअल सम्मेलन हुने, नेपालको कस्तो छ तयारी

काठमाडौँ । मंसिर १४, आमनिर्वाचनको चटारोकै माझ पनि गत कात्तिकको अन्तिम साताभरि नेपालमा जलवायु परिवर्तनसम्बन्धी २७औँ संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २७) को व्यापक चर्चा भयो ।
सरकारी प्रतिनिधि, गैरसरकारी संस्था र अभियानकर्मीसँगै पत्रकारसमेत गरेर कम्तीमा पनि ७६ जना नेपाली त सम्मेलनमा प्रत्यक्ष भाग लिन इजिप्ट पुगेको खबर आयो ।
इजिप्टको सामएलसेखको हल्लाखल्ला काठमाडौँमा पनि राम्रैसँग सुनियो । यहाँ पनि नेपालका जलवायु चासो र सरोकारहरूका बारेमा गोष्ठी र छलफल भए ।
सञ्चार माध्यममा जलवायु परिवर्तनको विषयले राम्रो स्थान पायो । सर्वसाधारणलाई समेत थाहा भयो कि इजिप्टमा जलवायुसम्बन्धी ठूलो कार्यक्रम भइरहेको छ र नेपालका लागि पनि त्यो महत्वपूर्ण छ ।
विश्व जलवायु सम्मेलन सकिएको करिब दुई हप्तापछि अन्तर्राष्ट्रिय जगतका वातावरणकर्मीहरू अर्को विश्व सम्मेलन (कोप १५)को तयारीमा छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन आमचासोमा रहे पनि आगामी बुधबार क्यानडाको मोन्ट्रिअलमा हुने संयुक्त राष्ट्रसङ्घीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनबारे काठमाडौंमा खासै चर्चा छैन ।
सम्मेलनको तयारीका लागि भन्दै वन तथा वातावरण मन्त्रालयले गरेका आन्तरिक बैठकहरूबाहेक जैविक विविधतासम्बन्धी आगामी विश्व सम्मेलन (कोप १५) लाई जोडेर कुनै कार्यक्रम भएको जानकारी पनि छैन । न त कुनै अभियन्ता वा गैरसरकारी संस्था सम्मेलनमा जाने तयारीमा छन् ।
यद्यपि १३ दिनसम्म चल्ने सम्मेलन र त्यसअघिको एक कार्य समूह बैठकका लागि सरकारले भने चार सदस्यीय टोली क्यानडा पठाउँदै छ ।
तर, जैविक विविधताको विषयमा नेपालमा गहन चर्चा हुन छाडेका अवस्थामा यस सम्मेलनबाट नेपालले के कति उपलब्धि हासिल गर्ला भन्ने विषयमा भने सरोकारवाला मात्र नभएर सरकारी अधिकारीहरू पनि प्रस्ट छैनन् ।
केही वर्ष अघिसम्म नेपालमा वातावरणीय छलफलको केन्द्रमा वन हुन्थ्यो । सरकारले नै ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई आक्रामक रूपमा प्रचार गथ्र्यो । प्रायः सबैतिर ‘रुख रोपौँ, वन जोगाऔँ’ लेखेको देखिन्थ्यो । तर, पछिल्ला केही वर्षमा जलवायु परिवर्तनले त्यो स्थान ओगटेको छ ।
सम्भवतः यसपछाडिको मुख्य कारण हो, जलवायु परिवर्तनको बृहत्तर प्रभाव, अर्थात् नेपाली मानव जीवनको कुनै पनि पक्ष जलवायु परिवर्तनबाट अछुतो हुन नसकेको अवस्था ।
यस अवस्थामा जलवायु परिवर्तनको मुद्दाले सर्वत्र चर्चा पाउनु सकारात्मक मात्र नभई एक निर्विकल्प आवश्यकता थियो । तर, समस्या तब पर्यो, जब जलवायुबाहेकका अन्य वातावरणीय मुद्दाहरू ओझेलमा परे ।