तुलसीपुरमा आयोजित मेलाको विरोधमा नगरपालिकाको कार्यालयमा तालाबन्दी

सहयात्रा टिभी

काठमाडौं । मंसिर १५, तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।

 

आजदेखि युथ्स अफ तुलसीपुरले तुलसीपुर–६ हात्तीखौवामा मेला लगाउने तयारी गरिरहेको समयमा त्यसको विरोधमा वाणिज्य संघका पदाधिकारीले उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।

 

व्यापारीले उपमहानगरपालिकाको कार्यालय प्रवेशद्वारमा तालाबन्दी गरेको हुँदा कामकाज ठप्प भएको छ।

बिहान १० बजेतिर उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा व्यापारीले तालाबन्दी गरेपछि सम्पूर्ण कर्मचारी तथा तुलसीपुरका मेयर टीकाराम खड्कासहितका पदाधिकारी पनि बाहिरै बसेका थिए।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली आएपछि मध्यान्ह १२ बजेतिर उपमहानगरपालिकामा लगाइएको ताला खोलेर वार्ता सुरू भएको छ।

त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल, तुलसीपुरस्थित सशस्त्र प्रहरीका पदाधिकारी उपमहानगरपालिकामा बाक्लो संख्यामा उपस्थित थिए।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहित सबै कर्मचारी अहिले पनि कार्यालय बाहिर बसिरहेका छन्।

अहिले प्रजिअ रेग्मी, जिल्ला प्रहरी प्रमुख वली, तुलसीपुरका मेयर खड्का, मेला विरोधी पक्ष तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसे, मेला लगाउन खोजिरहेको पक्ष युथ्स अफ तुलसीपुर क्लबका अध्यक्ष अरुण लहरे लगायतका बीचमा वार्ता जारी छ।

 

 

 

 

प्रकाशित : 1 December, 2022

प्रतिक्रिया दिनुहोस्