एमालेले सरकार निर्माणमा सत्ता गठबन्धनको रणनीति कुर्ने

सहयात्रा टिभी

काठमाडौं । मंसिर १६, प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दोस्रो र समानुपातिक मतमा पहिलो दल बनेको एमालेले सरकार निर्माणमा सत्ता गठबन्धनको रणनीति कुर्ने भएको छ ।

निर्वाचनको हालसम्मको परिणाममा सत्ता गठबन्धन बहुमतनजिक रहेकाले एमाले अन्तिम नतिजा आइसकेपछि मात्रै निर्णय गर्ने तयारीमा छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्रीका विषयमा सहमति हुन नसक्ने अवस्था सिर्जना भए एमालेको नेतृत्वमा अर्को समीकरण बन्ने सम्भावना छ ।

यही गठबन्धन कायम रहे पहिला प्रधानमन्त्री को हुने भन्ने देउवा र दाहालबीच सहमति हुन बाँकी छ । उनीहरूबीच सहमति हुन नसके कांग्रेस–एमाले वा एमाले–माओवादी र अन्य दलको समीकरण बन्न सक्छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् । प्रधानमन्त्री देउवा सीके राउत नेतृत्वको जनमत पार्टीलाई पनि गठबन्धनमा सहभागी गराउने प्रयासमा छन् । सत्ता गठबन्धनकै सहयोगमा रौतहटबाट जितेका प्रभु साह र किरण साहसँग पनि गठबन्धन नेताहरूले संवाद अघि बढाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंसिर ८ मा टेलिफोनबाट बधाई साटासाट भएको थियो । त्यसयता दुई नेताबीच थप कुराकानी अघि बढेको छैन । एमाले र माओवादीका दोस्रो तहका नेताहरूबीच अनौपचारिक कुराकानी भने निरन्तर छ ।

 

प्रकाशित : 2 December, 2022

प्रतिक्रिया दिनुहोस्