प्रदेश १ मा एमाले नेतृत्व गठबन्धनको बहुमत

काठमाडौँ । मंसिर १८, प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने देखिएको छ ।
९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३७ जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् ।
प्रदेशमा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । समानुपातिकको मत गणना अन्तिमतिर पुग्दा एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनको सिट संख्या ४७ सांसद पुगेको देखिएको छ ।
प्रदेशसभामा सबभन्दा ठूलो दल बनेको नेकपा एमालेले प्रत्यक्षतर्फ २५ सिट जितेको छ । समानुपातिकतर्फ ६ लाख ६५ हजार ४६० मत पाएको एमालेले १५ सिट पाउने देखिन्छ ।
अब सरकार बनाउन एमालेलाई थप ७ सांसद चाहिन्छ । प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकतर्फ ४ सिट पाउने देखिन्छ ।
प्रत्यक्ष तर्फ सिट नजितेपनि जसपाले समानुपातिक मतका आधारमा एक सिट पाउने सम्भावना छ । अर्थात चुनावी गठबन्धन नटुटे प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्छ ।