इन्गेजमेन्ट टुटेपछि केटा पक्षको घर अगाडि पेट्रोल खन्याएकी पुष्पाको जलेर मृत्यु

काठमाडौं । मंसिर २०, दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ । विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटा पक्षकहाँ गएकी उनी आइतबार जलेको अवस्थामा भेटिएकी थिइन् ।
उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ ।प्रहरी वृत्त, महाराजगञ्जका अनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न पेट्रोल खन्याएकी थिइन् । तर, उनलाई बचाउनुको साटो नरोकी आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको दाबी छ ।
परिवारले प्रहरीमा दिएको किटानी जाहेरीमा केटा पक्षले घरमा समेत बोलाएर मानसिक यातना दिएको भनिएको छ । प्रहरीका अनुसार शरीरमा पेन्ट्रोल खन्याएर आगो लगाएको अवस्थामा उनलाई उद्दार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा पुर्याइएको थियो ।
सोमबार बिहान साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।न्यौपानेको मृत्यु भएपछि न्यौपानेको परिवारले इन्गेजमेन्ट गरेका २९ वर्षका मधु संग्रौलासहित उनको परिवारका सुधन संग्रौला, ५७ वर्षका दिनेश संग्रौला र बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।
एसपी मैनाली भन्छन्, ‘जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ परिवारका अनुसार संग्रौला दरबारमार्गस्थित शोरुममा आउने क्रममा २०७८ को माघ महिनादेखि चिनजान भएको थियो । एकअर्काबीच फोन र सामाजिक सञ्जालमा कुराकानी हुने क्रममा उनीहरु प्रेम सम्बन्धमा थिए । त्यसक्रममा एकअर्काको घरमा समेत आउजाउ हुने गरेको उनीहरुको भनाइ छ ।
त्यसक्रममा दुवै जनाले विवाह गर्ने भनेपछि दुवै पक्षको मञ्जुरीमा १८ भदौमा इन्गेजमेन्ट भएको न्यौपाने पक्षको भनाइ छ । त्यसक्रममा एक वर्षभित्र विवाह गर्ने सहमति भए पनि १७ कात्तिकमा एकाएक केटा पक्षले इन्गेजमेन्टको दक्षिणा र गरगहना फिर्ता गरेको केटी पक्षको भनाइ छ ।
‘प्रतिवादीले मानसिक यातना दिएपछि घटना हुनुअघि उनले म मर्नुभन्दा अर्को विकल्प रहेन भन्दा पनि घरमा बोलाएर समेत मानसिक यातना दिए’, न्यौपानेले दिएको जाहेरीमा भनिएको छ । परिवारले प्रहरीसँग सुधन र पुष्पाबीच फेसबुक म्यासेन्जर, भाइबर र ह्वाटस एपसहित कल डिटेल विवरण बुझेर अनुसन्धान गर्न पनि माग गरेको छ ।