सार्वजनिक किरियापुत्री भवनमा जातीय विभेद गरेको भन्दै तीन जनालाई एक वर्ष कैद

काठमाडौं । मंसिर २०, सार्वजनिक किरियापुत्री भवनमा जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले तीन जनालाई कैद र जरिबाना तोकेको छ ।
पोखरा १६ बाटुलेचौरमा किरियापुत्रीमाथि विभेद गर्ने तीन जनालाई जनही एक वर्ष कैद, ५० हजार जरिबाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले सोमवार पीडक देवबहादुर थापा, रामबहादुर जिसी र जनक क्षेत्रीलाई कारबाहीको फैसला सुनाउनु भएको हो ।
न्यायाधीश भट्टराईले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय ) ऐन २०६८ को दफा ७ को १ (क) अनुसार फैसला गर्नुभएको हो। ऐनको दफामा जातीय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय, ५० हजारदेखि २ लाख जरिबाना, पीडितलाई २ लाख रुपैयाँसम्म क्षतिपूर्तिको व्यवस्था गरेको छ ।
पोखरा महानगरपालिका १६ बाटुलेचौरमा रहेको सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्नका लागि चाबी माग्दा स्थानीय मोहनकुमार सुनारलाई जातीय भेदभाव गरेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला सहायक न्यायाधीवक्ता महेश अर्याल र पीडितकोतर्फबाट शिव सुनारले बहस गर्नुभएको थियो । १६ बाटुलेचौरमा २०७७ वैशाख १४ गते किरियापुत्री भवनको चाबी माग्दा मोहन सुनारलाई भेदभाव भएको भन्दै वैशाख १८ गते जाहेरी दिएका दिनुभएको थियो ।
जाहेरी दिएको केही समयपछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेर अदालतमा थुनछेकको बहस हुँदा जनही १ लाख ७० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
अन्तिम अपडेटस् मंसिर २०, २०७९