विश्वकपमा एसियाको यात्रा टुङ्गियो, ६ ओटै राष्ट्र पराजित
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । मंसिर २०, कतारमा जारी विश्वकप २०२२ मा एसियाबाट ६ राष्ट्र सम्मिलित थिए । जसमा आयोजक कतारसहित, इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिए भने ३ टिम अष्ट्रेलिया (एसियाबाट फुटबल खेल्छ), जापान र दक्षिण कोरिया अन्तिम १६ मा पुगेका थिए ।
तर सोमबार राति भएको नकआउट चरणको जापान क्रोयसियासँग पेनाल्टीमा चुक्यो भने दक्षिण कोरिया ब्राजिलसँग ४–१ को हारले बाहिरियो । एकै दिन २ एशियाली राष्ट्रहरुको विश्वकप यात्रा टुङ्गियो । अर्जेन्टिनासँग २–१ ले पराजित भएपछि यसअघि नै अष्ट्रेलिया घर फर्केको थियो ।
विश्वकपमा १९९८ बाट भाग लिन सुरु गरेको जापानले यस पटक राम्रो सुरुवात गरे पनि अन्तिम १६ सम्म मात्र आइपुग्न सक्यो । २००२ मा पहिलो पटक अन्तिम १६ सम्म पुगेको जापानले यस पटक सुरुको खेलमा जर्मनीलाई २–१ पराजित गर्दै राम्रो सुरुवात लिएको थियो । दोस्रो खेलमा कोस्टरिकासँग १–० ले पराजित भएको जापानले तेस्रो खेलमा स्पेनलाई २–१ ले हरायो । समुह चरणमा दुई जायान्ट राष्ट्रलाई पराजित गरेको जापानले केही आशा जगाएको थियो ।
दक्षिण कोरियाले पहिलो खेल उरुग्वेसँग शुन्यको बराबरी खेलेको थियो । दोस्रो खेलमा घानासँग ३–२ ले पराजित भयो । समुह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–१ हराउँदै समुह एचको उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो ।
अन्तिमा १६ मा यात्रा टुङ्गिए पनि यी दुई राष्ट्रले एसियाली फुटबलको राम्रो परिचय प्रस्तुत गरे । जापानी समाचार संस्थाले सोमबार भएको खेललाई दुई दशकसम्म एसियाली फुटबलले याद राख्ने क्षण भनेर वर्णन गर्यो । दक्षिण कोरियाको योनहाप समचार एजेन्सीले ‘यादगार अन्डरडगको कहानी’ भनेर लेखेको छ ।
जापनको अहिलेसम्मको विश्वकपको यात्रा हेर्ने हो भने चार पटक अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो । २००२, २०१०, २०१८ र २०२२ मा जापान अन्तिम १६ सम्म पुग्न सफल रह्यो । यो टिम अन्तिम १६ बाट माथि उक्लन सकेको छैन ।
जापानका प्रशिक्षक हाजिमी मोरियासु आफ्ना खेलाडीको खेल सुधार्ने प्रतिबद्धता जनाएका थिए । अन्तिम १६ मा कडा प्रतिस्पर्धा दिएको जापान पेनाल्टीमा चुक्यो । १२० मिनेटसम्म क्रोएसियासँग १–१ बराबरी खेलेको जापानले पेनाल्टी ३–१ का साथ पराजित भयो ।
जापानका अनुभवी डिफेन्डर युटो नागाटोमीले यस पटक आफ्नो चौथो विश्वकप खेलेका थिए । उनले क्रोएसियासँगको हार पश्चात भने, ‘यो हारको हामीलाई धेरै ठूलो पश्चताप रहनेछ । तर यो हारले हामीलाई आगामी दिनमा सुध्रिने कुरा सिकाउनेछ ।’
डिफेन्डर नागाटोमीले थपे, ‘हामीले अन्तिमसम्म पनि जापानीको डटेर खेल्ने क्षमता देखायौं । हामीलाई हार बेहोर्नु गाह्रो थियो तर जापानी फुटबलले प्रगति गरिरहेको छ, यसमा कुनै शंका छैन ।’
जापानी प्रशिक्षक मोरियासु भने यो हार पश्चात जापानी फुटबलको नयाँ युग सुरु भएको बताउँछन् । ‘हामी एकै पटक सुपरहिरो बन्न सक्दैनौं । हामीले एक एक खुड्किलो पार गर्दै जानु पर्छ । तर जापान एक विश्वकप खेल्ने स्तरमा भने पुगिसकेको छ ।’
‘यी खेलाडीहरु अब हरेक खेलाडीसँग आँखा जुधाउन सक्छन् । यिनीहरुले कडा प्रतिस्पर्धीलाई पछि पारे यसले पनि उनीहरुको हौसला बुलन्द बनाएको छ’, प्रशिक्षक मोरियासुले भने ।
क्रोयसियासँगको हारपश्चात केही खेलाडी मैदानमै लडे, कति रोए पनि तर प्रशिक्षक मोरियासुले उनीहरुलाई सम्हाले । ‘नतिजा हामीले सोचे अनुरुप आएन तर मैले उनीहरुलाई भनेको थिएँ, तिमीहरुले गरेका सबै कुरालाई नकार्न सकिदैँन’, उनले भने, ‘हामी अन्तिम १६ मा नै सिमित हुन सक्दैनौ एक नयाँ परिदृश्य देख्न सकौं ।’
आफ्नो टिमले राम्रो खेले पनि क्रोयसियाका गोलरक्षक डोमनिक लिभाकोभिकले उत्कृष्ट बचाउ गरेको उनले बताए । ‘हामीले नतिजा स्विकार गर्नुपर्छ । हामी दबावमा परेमा झुकेको जस्तो लाग्दैन । मलाई लाग्छ क्रोयसियाका गोलरक्षक निकै राम्रो थिए ।’
जापानका गोलरक्षक सुची गोन्डाले भने, ‘हामी कमजोर देखियौं तर हामीले गत चार वर्षमा जति गर्न सक्थ्यौं त्यो सबै गरेका थियौं ।’