रामपुर नगरपालिकाले आलु बजारीकरणको जिम्मेवारी लिएपछी किसानहरु उत्साहित
काठमाडौं । मंसिर २१, पाल्पा रामपुर नगरपालिकाले बजारीकरणलाई सहज बनाउँदै बीउमा अनुदान दिएको छ । आलु बजारीकरणको जिम्मेवारी लिएपछी किसानहरु उत्साहित भएका छन् । किसानहरुलाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो ।
सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने समय एकै हुँदा बजारमा झट्ट बिक्री गर्न समस्या हुन्थ्यो । भण्डारण गरेर राखिएको आलु टुसा उम्रने बेलासम्म नबिकेर त्यत्तिकै कुहाउनु पनि पर्थ्यो । अहिले भने रामपुर नगरपालिकाले किसानले उत्पादन गरेको आलु बजारीकरणको प्रबन्ध गरिदिने भएपछि उत्साहित हुँदै आलुखेतीमा लागेका छन् ।
हराभरा महिला कृषि सहकारी, दियालो सामाजिक महिला उद्यमी कृषि सहकारी, कँडेलबारी कृषक समूह, तालपोखरा कृषक समूह, आत्मनिर्भर कृषक समूह, जनजागृति कृषक समूह, सातबिसे सेरा कृषक समूह, माझटोल कृषक समूह, नदी किनार कृषक समूह, शुभप्रभात महिला कृषक समूहले रामपुर नगरपालिकाको अनुदान सहयोगमा खायन आलुखेती गरेका छन् ।
यस वर्ष झण्डै तीन सय क्विन्टल आलुको बीउ किसानलाई अनुदानमा उपलब्ध गराइएको छ । खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र करिब चार सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ ।
रामपुरमा करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आइएको छ । पछिल्ला वर्षमा रामपुरमा पालिकाले बीउमा अनुदान दिन थालेपछि आलुखेतीमा किसानको ह्वात्तै आकर्षण बढेको छ । छोटो समयमा खेती लगाएर धेरै उत्पादन गर्न पाइने आशामा धेरैले हिउँदयाममा व्यावसायिक आलु उत्पादनलाई जोड दिन थालेका छन् ।
रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको एउटा दरिलो माध्यम बनेको छ । रामपुरबाट बिक्रीका लागि अहिले तानसेन, पोखरा, बुटवल, नारायणघाट, काठमाडौँसम्म सडक सञ्जाल जोडिएपछि सवारीसाधनमा पठाउन सजिलो भएको छ ।