मुम्बईको अत्याधुनिक स्टुडियोमा ‘ह्यारी कि प्यारी’ को पोस्ट प्रोडक्सन

काठमाडौं । मंसिर २१, हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शनको तयारीमा छ । मुम्बईको अत्याधुनिक प्राइम फोकस स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सनको कार्य भैरहेको छ ।
माघ २० लाई प्रदर्शन मिति तोकेको चलचित्रलाई डा: कपिल रिजालले निर्देशन गरेका हुन् । रोमकम जनराको सिनेमामा निर्देशक रिजाल कै प्रस्तुति र कथा छ । रिलिजको लागि २ महिनाको समय बाँकी रहँदा सिनेमाको टिम भने यतिबेला बलिउड नगरी मुम्बई पुगेको छ ।
नेपालमा प्रयाप्त प्रोडक्सन स्टुडियो भएपनि राम्रो नतिजा दिन मुम्बईको अत्याधुनिक स्टुडियोमा प्रोडक्सन कार्य थालनी गरिएको निर्देशक रिजालले बताए ।
‘ह्यारी कि प्यारी’का मुख्य सहायक निर्देशक गिरिराज घिमिरे मुम्बईमा काम गर्दा टेक्निकल रुपमा सजिलो हुने बताउछन । साथै प्राइम स्टुडियोका कर्मचारीहरुले दिएको सम्मान र कामप्रतिको लगावले घिमिरेलाई प्रभावित बनाएको छ ।
सिनेमाका छायांकार सुदिप बराल मुम्बईमा पोस्ट प्रोडक्सनको काम गर्दा प्राविधिक रुपमा सिनेमा अब्बल हुने धारणा राख्छन । ‘नेपालमा हामीले सिमित स्क्रिनमा हेरेर डीआइको काम गर्नु पर्छ । त्यहाँ सम्पादन गर्दा हलको रेजुलेशनमा कस्तो दृश्य देखिन्छ भन्ने कुरा देख्न पाइन्थेन । यहाँ भने हलको प्रोजेक्सनकै लेभलको स्क्रिनमा सम्पादन गर्न पाउदा डिटेलिङमा देखिन्छ ।
नेपालमा प्रायस् हलहरुमा टुके प्रोजेक्सन हुन्छ भने यहाँ हामीले फोरकेमा सम्पादन गरिरहेका छौं ।’ छायांकार सुदिप बरालले मुम्बईको कामले नेपालमा पनि प्राविधिक शिक्षा अझ बिस्तार हुने आशा बोकेका छन् ।
सिनेमा सम्पादनको लागि मुम्बई पुगेका अभिनेता जितु नेपाल त्यहाँको स्टुडियोले नेपाली सिनेमालाई दिएको माया र सम्मानको कदर गर्छन । ‘हामि उहाँहरुको क्लाइन्ट भएका कारण राम्रो काम दिनु भएको छ ।
अझ त्यो भन्दा नि राम्रो कुरा उहाँहरुले नेपालीलाई दिएको सम्मान । उहाँहरुले बलिउड सिनेकर्मीलाई जस्तै हामीलाई पनि सम्मान दिनु भएको छ । उहाँहरु नयाँ काम गर्न पाएकोमा उत्साहितपनि देखिनु भएको छ ।’ जितुले प्राइम स्टुडियोको प्रशंसामा शब्द खर्चिए ।
‘गजनी’, ‘तारे जमीन पर’, ‘पिके’, ‘गोलमाल’, ‘थ्री इडियट्स’, ‘सिङ्घम’ जस्ता बलिउडका चर्चित सिनेमामा साउण्ड मिक्सिङको काम गरिसकेका सुवीर दासले ‘ह्यारी कि प्यारी’मा साउण्ड मिक्सिङ गर्न पाउदा एउटा माइलस्टोन पार गरेको बताउछन ।
‘सिनेमाको कन्टेन्ट र भावना राम्रो छ । यो कन्टेन्ट दर्शक माँझ पुग्न जरुरी जस्तो लागेपछि मिक्सिङको काम अगाडी बढाएँ । यो मेरो करिअरको माइलस्टोन हो । सिनेमाले भावनात्मक रुपमा दर्शकसंग कनेक्ट गर्न सक्छ ।’ साउण्ड इन्जिनियर दास सिनेमाको तारिफ गर्दै भन्छन ।
पहिलो पटक नेपाली सिनेमामा कलरको काम गरेका प्राइम स्टुडियोका सिनियर कलरिस्ट मनोज वर्मा नयाँ अनुभव प्राप्त गर्न पाएको बताउछन । साथै उनि नेपाली सिनेमालाई बलिउड जतिकै प्राथमिकता राखेर काम अगाडी बढाएको बताउछन । उनका अनुसार ‘ह्यारी कि प्यारी’मा बलिउड सिनेमा ‘बजरंगी भाइजान’को लेभलको कलरको काम भएको छ ।
स्टुडियोका प्रोडक्सन हेड निर्मल गाला आफुहरुले राम्रो काम दिने र समय मै सिनेमाको काम सकाउने बताउछन । उनले २० वर्षे लामो करिअरमा ८ सय बढी सिनेमाको काम गरेका छन् ।
सिनेमाको लागि ब्याकग्राउण्ड म्युजिसियनको काम गरेका बापीले ‘ह्यारी कि प्यारी’ मनोरन्जनको प्याकेजिङ भएकाले संगीत दिन मज्जा आएको बताए ।