निर्वाचन सम्पन्न भएसँगै नेताहरूसँग भारतीय राजदूत श्रीवास्तवको तीव्र भेटघाट

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २२, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

निर्वाचनको मतगणना जारी रहेकैबेला प्रधानमन्त्री शेरबहादुर देउवाबाट भेटघाट सुरू गरेका श्रीवास्तवले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरे ।

श्रीवास्तवले एमाले अध्यक्ष ओलीलाई भेट्न जानुअघि बुधबार नै उपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत भेट गरेका थिए । राजदूत श्रीवास्तवले यसअघि प्रधानमन्त्री देउवालाई मात्रै दुईपटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेट गरिसकेका छन् ।

प्रचण्डसँगको भेटमा समसामयीक राजनीति र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको थियो ।सोही दिन बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग एक्लाएक्लै भेट गरेका श्रीवास्तवले १७ मंसिरमा दोस्रोपटक भेट गरेका थिए ।

दोस्रो भेटमा देउवा डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचनमा निर्वाचित भएकोमा बधाई दिएको बताइएको थियो । तर त्यसअघि उनी निर्वाचनको मत परिणामसमेत सार्वजनिक नहुँदै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार र प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

अहिले गठबन्धन र राजनीतिक दलहरूबीच चुनावी समीक्षा चलिरहेको छ भने नेताहरू नयाँ सरकार गठनका लागि सत्ता समीकरणका विषयमा समेत अनौपचारिक छलफलमा व्यस्त छन् ।

यहीबेला भारतीय राजदूत श्रीवास्तवको दौडधुप बढेको छ । नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुन्छ भन्ने गरिएकाले भारतीय राजदूतको अहिलेको सक्रियतालाई चासोका साथ हेरिएको छ ।

 

प्रकाशित : 8 December, 2022

प्रतिक्रिया दिनुहोस्