चलचित्र ‘डेसान’ आजदेखि देशभर प्रदर्शनमा

काठमाडौं । मंसिर २३, नेपाली चलचित्र ‘डेसान’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।
लामो समयको पर्खाइपछि चलचित्र प्रदर्शनमा आएको हो । कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ ।
चलचित्रको मुख्य भूमिकामा रहेका निशान र पुनमको भने यो डेब्यु चलचित्र हो ।
चलिचत्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको निर्देशक एक्चै मगरले बताए । देशभरका करिब सयवटा हलमा चलचित्र प्रदर्शनमा आएको बताउँदै निर्देशक मगरले डेसान सामाजिक चलचित्र भएकाले दर्शकलाई हलमा गएर हेर्न पनि आग्रह गरेका छन् । यस चलचित्रको ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।
पर्फर्मिङ आर्ट क्रिएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचामगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।
चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो ।