आज २८ औं महानगर दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल म्याच

काठमाडौं । मंसिर २६, आज २८ औं महानगर दिवस २०७९ को अवसरमा काठमाडौं महानगरपालिकाले फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
‘२८ औं महानगर दिवस २०७९ प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल पनि सहभागी भएका छन् ।
सोमबार बिहान ८ बजेदेखि राजधानीको दशरथ रंगशालामा आयोजना गरिएको सो प्रतियोगितामा बालेन शाह पनि भिडेका थिए । प्रतियोगितामा काठमाडौं महानगरपालिकाका दुईवटा टिम आपसमा भिडेका थिए ।
एउटा टिमको नेतृत्व मेयर शाह र अर्को टिमलाई प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्व गरेका थिए । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरू थिए । प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरू थिए ।
नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि सो टिमबाट खेलेका थिए । टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तरार्द्धमा मात्रै मैदानमा छिरे । उनी मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । प्रमुख शाह खेल मैदानमा प्रवेश गरे पनि गोल गर्न भने सकेनन् ।