सट्टेबाजी धन्दा गर्ने एजेन्टलाई प्रहरीले जुवा ऐन अन्तर्गत कसुरमा मुद्दा चलाउने

काठमाडौं । मंसिर २६ कतारमा जारी विश्वकप फुटबल खेलमा कसले जित्छ, हार्छ वा बराबरीमा सकिन्छ भन्नेबारे ‘बाजी’ चलिरहेको छ । काठमाडौं उपत्यकामा करोडौं हारजित हुनेगरी त्यस्ता बाजी चल्ने गरेको तथ्य ‘ओपन सेक्रेट’ नै छ ।
कतार विश्वकप सुरु भएपछि काठमाडौंमा सट्टेबाजी गराएको आरोपमा जम्मा दुई जना पक्राउ परेका छन् । आइतबार पाल्पाको रैनादेवी छहरा–४ घर भएर बूढानीलकण्ठ बस्ने रुद्र प्रसाद पोखरेल र भारत राजस्थानका पवन कुमार शर्मालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।
उनीहरुले ‘डायमण्ड एक्स’ नामक एप्सको प्रयोग गरेर अनलाइनमार्फत बेटिङ ‘सट्टेबाजी’ गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौंको नरदेवी बस्दै आएका ३२ वर्षीय पवन सट्टेबाजी धन्दाका ‘पटके’ हुन् । उनलाई यसअघि पनि पक्राउ गरेर मुद्दा चलाइएको एसपी कोइरालाले जानकारी दिए ।
शर्मा २०७८ वैशाख १२ मा पनि पक्राउ परेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल)मा लाखौं हारजित हुने गरी सट्टेबाजी गराएको आरोपमा त्यतिबेला उनलाई मुद्दा चलाएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए ।
मंसिर १ मा केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाट ४४ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएका मध्ये १५ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा चलायो । अरु, जिम्मा जमानिमा रिहा भए ।
विश्वकप फुटबल, आइपिएल, कोपा अमेरिका फुटवल र युरोकप फुटबल जस्ता प्रतियोगितामा ‘वानएक्स बेट’ नामक कम्पनीको एप मार्फत सट्टेबाजी हुने गरेको छ । कतार विश्वकप–२०७९ मा पनि सो एप मार्फत खुलेआम सट्टेबजी भइरहेको जानकारहरु बताउँछन् ।
वानएक्स बेट, डायमण्ड एक्स र वेट–३६५ जस्ता कम्पनीहरुले एजेन्ट तोकेर बेटिङ गराएको कुरा ‘ओपन सेक्रेट’ छ । ती कम्पनीहरुले हारजितको रकम ई–सेवा, खल्ती र कनेक्ट आईपिएस लगायतका आर्थिक कारोबार गर्ने एपमार्फत भुक्तानी गरिरहेका छन् । तर, जम्मा दुईजना आरोपीलाई पक्राउ गरेर प्रहरी चुपचाप बसेको छ ।
अनलाइन बेटिङबारे अनुसन्धान जटिल हुने बताउँछन्, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कोइराला । एसपी कोइरालाले रातोपाटीसँग भने, ‘कुनै ठाउँमा बसेर मोबाइलमार्फत सट्टेबाजी हुन्छ, भुक्तानी समेत अनलाइनमार्फत हुने हुनाले सो लिंकमा छिरेर अनुसन्धान गर्न त्यति सहज छैन ।’
कतारमा जारी विश्वकप फुटबलको मंगलबार रातिबाट सेमिफाइनलका खेलहरू हुँदैछन् । फाइनल खेल पुस ३ मा हुन्छ । सेमिफाइनल र फाइनल खेलमा झन् धेरै रकमको सट्टेबाजी हुने जानकारहरु बताउँछन् । सट्टेबाजी गराउनेहरूलाई प्रहरीले जुवा ऐन अन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा मुद्दा चलाउने गरेको छ ।