प्रदेश १ समानुपातिक सांसद छनौटको विषय सच्याउन आयोगले गरेको आग्रह एमालेले अस्वीकार

सहयात्रा टिभी

काठमाडौ । मंसिर २७, निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभाका लागि समानुपातिक सांसद छनौटको विषय सच्याउन गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ ।

निर्वाचन आयोगले अल्पसंख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । उक्त पत्रको जवाफ आफूहरुले आयोगलाई दिइसकेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले बताए ।

‘निर्वाचन आयोगले हामीलाई जे कुरा स्पष्ट पार्न भनेर पत्र पठाएको थियो हामीले त्यही अनुसार स्पष्ट पारेर पठाएका छौं,’ न्यौपानेले भने, ‘यसअघि सिफारिस गरिएको नामावलीमा तलमाथि भएको छैन ।’

एमालेले पाएको १५ वटा समानुपातिक सिटमा अल्पसंख्यक कोटामा ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जसमा एमालेले जनजाती पुरुषबाट झापाका नम्बरलाल धिमाललाई पठाएको छ । जनजाती महिलाबाट भने उदयपुरकी सिर्जना दनुवार र संखुवासभाकी लहरुमाया जिमी (याख्खा)लाई पठाएको थियो ।

यद्यपि जनजाती महिलाको अल्पसंख्यक कोटामा लहरुमाया जिमीको नाम समानुपातिक बन्दसूचीको क्रम मिचेर पठाएपछि आयोगले प्रश्न गरेको हो । सूची अनुसार अल्पसंख्यक कोटामा धिमाल र दनुवार पछि एमालेले सुनसरीकी यशोदा कायस्थलाई पठाउनु पर्ने थियो ।

तर, उनीभन्दा पछिल्लो क्रममा रहेकी जिमीको नाम एमालेले पठाएको हो । एमालेको बन्दसूचीमा जनजाति महिलामा जिमीको १९ नम्बर क्रमसंख्या हुँदा कायस्थको १८ नम्बर रहेको छ ।

यस्तै अल्पसंख्यक तर्फपनि कायस्थको २ र जिमीको ३ छ । निर्वाचन आयोगले आजै समानुपातिक तर्फको अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ ।

 

 

प्रकाशित : 13 December, 2022

प्रतिक्रिया दिनुहोस्