सीटीईभीटी र पोखरा विश्वविद्यालयसँग अखिल क्रान्तिकारीको बार्गेनिङ

काठमाडौ । मंसिर २७, माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्षहरु इन्द्र भुसाल र नारायण खनालले आफ्नो संगठनको नामबाट सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको बार्गेनिङ भएको बताएका छन् ।
भुसाल र खनाल दुवैले संगठनले आधिकारिक रुपमै रकमको बार्गेनिङ गरेको सामाजिक सञ्जालमा लेखेका हुन् ।अब सम्बन्धन दिनका लागि प्रक्रिया अघि बढेको उनले बताए ।
अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहको प्यानलबाट उपाध्यक्ष बनेका खनालले आर्थिक चलखेल गरेर संगठनलाई बदनाम नगर्न पटक-पटक गराइएको ध्यानाकर्षण बेकार भएपछि सामाजिक सञ्जालमा लेख्न बाध्य भएको उल्लेख गरेका छन् ।
पोखरा विश्वविद्यालयले विभिन्न कलेजहरुलाई सम्बन्धन दिने र सीटीईभीटीले कोर्सहरु थप्ने तयारी गरिरहेको छ । पोखरा विश्वविद्यालयका रेक्टर दीपकबहादुर भण्डारीका अनुसार गत भदौमा सम्बन्धनका लागि आवेदन आह्वान गर्दा करिब १५० कलेजले आवेदन दिएका छन् ।
यसैगरी सीटीईभीटीले कोर्सहरु थप्ने तयारी गरेको छ । सम्बन्धन दिंदा विद्यार्थी संगठनहरुले विरोध नजनाउन् भनेर मोटो रकमको चलखेल हुने गरेको सम्बद्ध स्रोतहरु बताउँछन् ।
यसअघि अखिल क्रान्तिकारीकै नेतृत्वमाथि पोखरा विश्वविद्यालयबाट ११ लाख रुपैयाँ असुलेको आरोप लागेको थियो । यद्यपि त्यसको पुष्टि हुन भने सकेन । अहिले फेरि सोही संगठनका नेताहरुले पोखरा विश्वविद्यालयका पदाधिकारीसँग बार्गेनिङ भइरहेको विषय सार्वजनिक गरेका छन् ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष भुसालले पोखरा विश्वविद्यालयका पदाधिकारीहरुले आफूलाई टेलिफोन गरी क्रान्तिकारीकै नेताले रकमको बार्गेनिङ गरेको बताएको जानकारी दिए ।
अखिल क्रान्तिकारीका अर्का उपाध्यक्ष नारायण खनालले पनि पोखरा विश्वविद्यालय र सीटीईभीटीमा अखिल क्रान्तिकारीकै जिम्मेवार नेताले रकमको बार्गेनिङ गरेको पाइएको बताए । यसबारे आफूले अध्यक्ष पञ्चा सिंहको ध्यानाकर्षण गराएको तर ‘रेस्पोन्स’ नपाएपछि सामाजिक सञ्जालमा लेखेको बताए ।