राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन प्रक्रिया र प्रावधान

काठमाडौं । पुस १, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक तर्फ दुवैको सम्पूर्ण मत परिणाम आइसक्नुपर्छ, जो बुधबार निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।
अब संविधान बमोजिम बहुमत पुर्याउने कुनै सासंद वा सबभन्दा ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ । सरकार गठन भएपछि संघीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुखको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
त्यसपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुन्छ । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ ।
संघीय सांसद (प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य) ले दिएको एक भोटको ७९ र प्रदेश सभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी २७५ सांसद हुन्छन् । राष्ट्रिय सभामा ७ प्रदेशबाट निर्वाचित ८र८ जना र मनोनित ३ जना गरी ५९ सदस्य हुन्छन् । यी ८ जनामध्ये ३ जना महिला, एक जना दलित र ४ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित भएका हुन्छन् ।
यसरी संघीय संसदका ३३४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्छन् । जसको मतभार २६ हजार ३ सय ८६ हुन आउँछ । सातवटै प्रदेश सभामा ५५० सदस्य छन् । उनीहरुको कूल मतभार २६ हजार चार सय हुन आउँछ ।
राष्ट्रपति निर्वाचनमा कुल ८८४ जनाले मतदान गर्नेछन् । उनीहरूको जम्मा मतभार ५२ हजार ७ सय ८६ हुन्छ ।
समग्रमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभामा रहेका दलहरुको मतभारका दृष्टिमा कांग्रेस र एमाले हाराहारीमा देखिन्छन् । माओवादी केन्द्र तेस्रोमा छ ।
राष्ट्रिय सभामा १० र प्रतिनिधिसभामा ८९ सांसद रहेको कांग्रेसको मतभार ७,८२१ छ । प्रदेश सभातर्फ १७५ सदस्य जितेको कांग्रेसको मतभार ८४०० हुन्छ । संघ र प्रदेश दुवैतर्फ जोड्दा कांग्रेसको कूल मतभार १६ हजार २२१ पुग्छ ।
नेकपा एमाले पनि कांग्रेसकै हाराहारीमा छ । दुवै सभातर्फ जोड्दा १५ हजार २८१ मतभार रहेको एमालेको प्रतिनिधिसभामा ७८ र राष्ट्रिय सभामा अध्यक्ष सहित १७ सांसद छन् । जसको मतभार ७,५०५ हुन्छ । प्रदेश सभातर्फ देशभर १६२ सिट जितेको एमालेको मतभार ७७७६ छ ।
राष्ट्रिय सभामा १६ सांसद रहेको माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ सिट छ । प्रदेश सभातर्फ उसले देशभर ८२ सिट जितेको छ । संघमा ३७९२ मतभार रहेको माओवादी केन्द्रको प्रदेशसभा तर्फ ३९३६ मतभार पुग्छ । दुवैतिर जोड्दा माओवादीको कूल मतभार ७,७२८ हुन आउँछ ।
तीनवटै सभाको कूल मतभार जोड्दा एकीकृत समाजवादीको दुई हजार ४७८, जनता समाजवादी पार्टी ९जसपा० को दुई हजार ९७ मतभार छ ।