गुरु न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानले सेयरको अवैध कारोबार गरेको ठहर
काठमाडौं । पुस १, नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गरेको छ ।
बोर्डको सञ्चालक समितिले न्यौपाने र प्रधान दुवैलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । आफू सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेकोबारे बोर्डले गरेको अध्ययनमा न्यौपाने र प्रधान दोषी भेटिएका हुन् ।
दुवैले कानुन विपरीत सेयर कारोबार गरेको भन्दै बोर्डको विभागीय स्तरबाट हदैसम्मको कारवाही गर्ने सिफारिस भएपछि बोर्डको सञ्चालक समितिले दुवैलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
कानुन विपरीत सेयर कारोबार गरेकोबारे न्यौपाने र प्रधानले चित्तबुझ्दो स्पष्टीकरण नदिए कानुन अनुसार कारबाही हुने बोर्ड स्रोतले बतायो । सञ्चालक समितिमा रहँदा वा सञ्चालक समिति छोडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था छ ।
तर, आफू सञ्चालक समिति अध्यक्ष वा सञ्चालक समिति सदस्य हुँदाहुँदै र पद छाड्नासाथ सेयर कारोबार गरेको भेटिएको बोर्डको अनुसन्धानबाट देखिएको छ ।
प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियम विपरीत श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर बिक्री गरेका थिए ।
रिडी पावरका अध्यक्ष रहँदा न्यौपानेले १९ चैत २०७७ देखि ४ भदौ २०७८ सम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए ।
बोर्डले न्यौपाने आफैंले र उनको परिवारका सदस्यले उक्त कम्पनीको सेयर दोस्रो बजारमा कानून विपरीत बेचेको भन्दै ६ पुस २०७८मा नै कारबाही सिफारिस प्रतिवेदन बुझाएको थियो ।
धितोपत्र दर्ता निष्कासन नियमावली अनुसार ‘कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था’ छ ।
प्रधान र न्यौपानेलाई धितोपत्र ऐनको दफा १०१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । स्पष्टीकरण लिएपछि धितोपत्र ऐनअनुसार कानुन विपरीतको कारोबार गरेको आधारमा जरिवाना हुनेछ ।