अन्तिम ८ बीच प्रतिस्पर्धा, भ्वाइस अफ नेपालमा आज दुई जना बाहिरिने

सहयात्रा टिभी

काठमाडौं । पुस १, गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आज (शुक्रबार)देखि अन्तिम आठका प्रतिस्पर्धा हुँदैछन् । चारजना कोचको समूहबाट दुई–दुईजना प्रतिस्पर्धीले आगामी चरणमा जान संघर्ष गर्नेछन् ।

सेमिफाइनल समेत बताइएको यो चरणपछि फाइनल चरण आउने भएकाले अन्तिम आठको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । दर्शकले शुक्रबार कार्यक्रम प्रसारण हुने समयसम्मै मतदान गर्न सक्नेछन् ।

दर्शकको भोट निर्णायक हुने भएकाले कुन प्रतिस्पर्धी बाहिरिनेछन् भन्ने अनुमान गर्न सजिलो छैन । कोच स्वयंले आफ्नो समूहबाट प्रतिस्पर्धा गरिरहेकाहरुको लागि भोट मागिरहेका छन् ।

अहिले अन्तिम आठमा टिम प्रमोदबाट योगेश मगर र आशिष महर, टिम राजुबाट रियान गिरी र करण राई, टिम राजेशबाट सविना योङहाङ लिम्बू र पदम राई तथा टिम प्रविशाबाट साइल लिम्बू र प्रिज्वल नेपाली छन् ।

भ्वाइस अफ नेपालका प्रतियोगीहरु पदम राई, प्रिजोल नेपाली, रियान गिरी र योगेश मगर प्रतियोगीले सामाजिक सञ्जालबाट भोट मागिरहेका छन् भने प्रतियोगीको पक्षमा विभिन्न समूहले पनि भोट अभियान चलाइरहेका छन् ।

आशिष महरको पक्षमा सुदूरपश्चिममा भोट अभियान चलिरहेको छ । रियान गिरीको लागि भुटानको थिम्पुमा अर्थ संकलन गर्न कन्सर्ट चलिरहेको छ ।

शोका पूर्वविजेता किरण गजमेरले समेत रियानको पक्षमा खुलेर भोट मागिरहेका छन् । केही प्रतिस्पर्धीको लागि दलका नेता र जनप्रतिनिधिले समेत भोट मागिरहेका छन् । द भ्वाइस प्रत्येक शुक्रबार र शनिबार हिमालय टीभीबाट बेलुका ८ बजे प्रसारण सुरु हुन्छ ।

प्रकाशित : 16 December, 2022

प्रतिक्रिया दिनुहोस्