कमला घिमिरेले गाएको दोहोरीलाई बालगायिकाको दुरुपयोग गरेको भन्दै आलोचना

सहयात्रा टिभी

काठमाडौं । पुस १, बालगायिका कमला घिमिरेको एउटा लाइभ दोहोरी गीत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गायक सुमन परियारसँग मिलेर उनले गाएको उक्त गीतले एकैसाथ आक्रोश र चर्चा बटुलेको छ ।

नाबालिका बलात्कार आरोपबारेका पछिल्ला दुई स्क्यान्डललाई घुमाउरो ढंगले व्यंग्य गरिएको यो गीतलाई सयौंले युट्युब, टिकटक, फेसबुक लगायतको टाइमलाइनमा टिकाटिप्पणी गरिरहेका छन् ।

सानै उमेरदेखि दोहोरी गायनमा चर्चा बटुलेकी कमला पनि विवाद र आलोचनाले घेरिएकी छन् । खासगरी उक्त गीतको विषयवस्तु र ‘कम्पोजिसन’ आपत्तिजनक रहेको भन्दै तत्काल माफी माग्न सामाजिक सञ्जालमा माग भइरहेको छ ।

गीतले यी घटनाका पीडितलाई थप पीडा थपेको भन्दै आलोचना भइरहेको छ । केहीले गीत र गायिकालाई बहिष्कार गर्नुपर्ने माग राखेका छन् । ती घटनाका आरोपीले अदालतमा दिएका बयानकै शैलीमा गाइएको लाइभ दोहोरी गीतमा प्रयोग भएको १० लाख भन्ने शब्दले धेरैको ध्यानाकर्षण गराएको छ ।

लोकगायक राजु ढकालले गीतमा टिप्पणी गर्दै डलरको लागि कलिला मुनालाई प्रयोग गरेर गीत गाउन लगाइएको भन्दै आपत्ति जनाएका छन् । कमला घिमिरेले गाएको उक्त गीतको उक्त स्क्रिप्ट अरु कसैले लेखिदिएको हुनसक्ने अनुमान उनले गरेका छन् ।

गायिका जमुना सनमले आफूलाई उक्त गीत सुन्दै लाज लागेको टिप्पणी गरेकी छन् । दोहोरी कलाकारबाहेक सर्वसाधारण कतिपयले युट्युब भ्युज र डलरका लागि कमला घिमिरेलाई प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनीहरुको यो आशंका किन पनि गलत छैन भने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले भद्दा, अश्लील र अपाच्य लाइभ दोहोरी गीत गाएको भन्दै केही महिनाअघि नाम चलेकासहित दुई दर्जन कलाकारलाई आइन्दा त्यसो नगर्ने सर्तमा सचेत गराएको थियो । नाम चलेका केही गायक/गायिकालाई पनि प्रतिष्ठानले स्पष्टीकरण सोधेको थियो ।

खासगरी डलर कमाउने नाममा लाइभ दोहोरी गीत छाडा बन्दै जान थालेको भन्दै चिन्ता व्यक्त भइरहेको छ । त्यसको प्रभाव कमला घिमिरे र सुमन परियारको यो गीतको प्रकरणमा देखिएको छ ।

तर सामाजिक सञ्जालका कतिपयको धारणा चाहिं केही अलग छ । कमला घिमिरे र सुमन परियारले यथार्थ उजागर गरिदिएको भन्दै कतिपयले समर्थन व्यक्त गरेका छन् ।

महत्वपूर्ण कुरा, यौनहिंसाजस्तो संवेदनशील घटनाका पीडितको सामाजिक पुनर्स्थापना र सहज जीवनयापनका लागि पनि यस्ता गीतले मनोवैज्ञानिक असर पार्न सक्ने अनुमान गर्न सकिन्छ ।

 

प्रकाशित : 16 December, 2022

प्रतिक्रिया दिनुहोस्