पोखरा महानगरले सडकमै विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्ने अनुमति

काठमाडौँ । पुस ३, आइतबार राति पौने ९ बजे हुने विश्वकप फुटबलको फाइनल खेल पोखराको सडकमै प्रत्यक्ष प्रशारण गर्न पोखरा महानगरपालिकाले अनुमति दिएको छ ।
निजी कम्पनीले पोखरा महानगरको सहकार्यमा पृथ्वीचोक र हल्लनचोकको सडकमै विश्वकपको प्रत्यक्ष प्रशारण गर्न लागेको हो । उक्त कार्यक्रमको प्रचार प्रसारका लागि परिचय एड्भरटाइजले पृथ्वीचोक र हललनचोकमा डिजिटल स्क्रिन राखेको छ ।
पोखराको पृथ्वीचोक पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल हो । रातको समयमा धेरैजनाको उपस्थितिमा खेल देखाउँदा सवारी आवागमनमा असर पर्ने र दुर्घटना हुन सक्ने भन्द जिल्ला ट्राफिक प्रहरी कार्यालयले असन्तुष्टि जनाएको छ ।
ट्राफिक प्रहरीले पृथ्वीचोक मुख्य राजमार्ग र बसपार्क क्षेत्रमै पर्ने भएकाले दुर्घटना निम्तिन सक्ने बताएको छ । ‘तर, हामी आदेश पालकमात्र भएकाले अनुमति पाइसकेपछि कुनै सम्भावित दुर्घटना हुन नदिन सम्पूर्ण सुरक्षाको व्यवस्था मिलाउन तयार नै छौं’, ट्राफिक प्रमुख शाहले भने ।
ट्राफिक प्रहरीको असन्तुष्टिको बाबजुद पनि महानगरले जिल्ला प्रशासनबाट सडकमै खेल देखाउन स्वीकृति लिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले भने स्वीकृति दिएको नभई आपसी समझदारीमा विश्वकपको फाइनल खेल देखाउन लागिएको बताए ।
पोखरा महानगरले भने खेल देखाउनमात्रै स्वीकृति दिएको तर, कुनै सहकार्य नगरेको दाबी गरेको छ । जबकि महानगरकै आधिकारिक फेसबुक पेजमा समेत सहकार्य अंकित प्रचारसामग्री सम्प्रेषण गरिएको छ ।