नेप्से करिब डेढ प्रतिशतले घट्यो, १ अर्ब १५ करोडको कारोबार
काठमाडौँ । पुस ३, सेयर बजार परिसूचक नेप्सेमा करिब डेढ प्रतिशतको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.५४ अंक (१.४६ प्रतिशत) ले गिरावट हुँदा १८५५.०६ अंकमा बन्द भएको छ ।
सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि करिब डेढ प्रतिशतले घटेको हो । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.८८ प्रतिशतले गिरावट हुँदा विकास बैंक, हाइड्रोपावर र अन्य उपसूचकमा पनि २ प्रतिशत भन्दा माथिको गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशतले गिरावट भएको छ ।
धमाधम लाभांश आइरहँदा पनि त्यसले लगानीकर्तालाई आकर्षण गर्न सकेको छैन । आइतबार नेप्सेमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख ५५ हजारको कारोबार भएको छ ।
जसमध्ये कृषि विकास बैंकको सर्वाधिक ६ करोड २५ लाख ११ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको ५ करोड ४३ लाख १३ हजार र नबिल बैंकको ५ करोड ४१ लाख १३ हजारको कारोबार भएको छ ।