तनहुँको व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गर्ने

काठमाडौ । पुस ४, तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ ।
आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पुर्याउन लागिएको हो । वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८औँ नम्बरमा तनहुँ पर्दछ ।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा व्यासमा श्रम र रोजगारसम्बन्धी शाखा स्थापना गरिने जानकारी दिनुभयो । आगामी नगरसभाबाट पारित गरी कार्यान्वयनमा ल्याउने गरी तयारी भएको उहाँले बताउनुभयो ।
युवालाई उद्यमशील बनाउन यस आर्थिक वर्षमा नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयो । सामी कार्यक्रम प्रभावकारी र उपयोगी भएको जनाउँदै उहाँले यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने नाराका साथ व्यास नगरपालिकाद्वारा आयोजित उक्त अन्तक्र्रियामा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सीप नसिकी कोही पनि वैदेशिक रोजगारीमा जान नहुने बताउनुभयो ।
सामी कार्यक्रमका गण्डकी प्रदेश संयोजक शैलेन्द्र मिश्रले वित्तीय व्यवस्थापन, सम्बन्धित देशको भाषा, मौसम तथा कानुनजस्ता विषयमा जानकारी, सही र भरपर्दो रोजगार व्यवसायीको छनोट, स्वास्थ्यसम्बन्धी सचेतना र पारिवारिक व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।