बालुवाटारमा बैठक जारी थपिए माधव नेपाल पनि

काठमाडौं । पुस १०, शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनमा सहमति जुट्न पेचिलो भइरहेका बेला अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भइरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी यही बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् ।
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् ।
सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग-अलग र संयुक्त बैठक हुँदै आएको छ । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २र२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ ।
यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन । सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिको सम्भावनालाई ख्याल गर्दै कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेका छन् ।
पछिल्लो पटक कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।