सरकारले कोरोनाको बुस्टर डोज लगाएकालाई थप खोप दिने तयारी

सहयात्रा टिभी

काठमाडौं । पुस १०,  सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने आकलनसहित बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरेको छ ।

पहिलो र दोस्रो पूर्ण खोप लगाइ बुस्टर डोज लगाएकाहरुलाई थप डोज दिने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकाहरुलाई थप मात्रा दिने तयारी छ ।

अहिले दुई मात्रा लगाएकालाई दिने बुस्टर मात्रा खोपको लागि १५ लाख डोज मगाइएको र अबको दुई हप्तापछि खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) खोप लगाउन आग्रह गर्दै आएको छ ।

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो ।

छिमेकी देशमा देखिएको बीएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउन समेत स्वास्थ्य र गृह मन्त्रालयले आग्रह गरिसकेका छन् ।

तर नेपालमा अहिलेसम्म नयाँ प्रजातिको बीएफ–७ देखिएको छैन । कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ ।

अब त्यही बाँकी रहेकामध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो । मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

 

प्रकाशित : 25 December, 2022

प्रतिक्रिया दिनुहोस्