प्रचण्डले बालुवाटार बैठक छाडेर ओलीलाई भेट्न बालकोट प्रस्थान

सहयात्रा टिभी

काठमाडौं । पुस १०, सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।

बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोटतर्फ लागेका छन् । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् ।

सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् । एक पदाधिकारी भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने कांग्रेसको अडानपछि गठबन्धन संकटमा देखिएको छ, त्यसैले एमालेसँग पनि संवाद सुरु गरेका हौं ।’

 

प्रकाशित : 25 December, 2022

प्रतिक्रिया दिनुहोस्