पुस २४ मा रेसुंगा विमानस्थलको ‘डेमो’ उडान हुने
काठमाडौं । पुस १०, गुल्मीमा निर्माण सम्पन्न भएको रेसुंगा विमानस्थलमा आगामी २४ पुस (जनवरी ८) मा ‘डेमो’ उडान हुने भएको छ । यो विमानस्थलमा परीक्षण उडान यसअघि नै भइसकेको छ ।
अब नियमित उडान गर्ने प्रयोजनसहित २४ पुसमा डेमो उडानको तयारी थालिएको हो । यहाँ तारा एयरले डेमो तथा नियमित उडानको तयारी गरिरहेको छ । तारा यति एयरलाइन्सको भगिनी कम्पनी हो ।
रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले समेत पुस अन्तिम साता डेमो उडान गर्ने गरी सहमति भएको जानकारी दिए । रेसुंगा नगरपालिकासँगको समझदारीमा नियमित उडानको तयारी
गुल्मीमा नियमित यात्रु पाउने सुनिश्चित नभएसम्म वायुसेवा कम्पनीले स्थानीय सरकारसँग समझदारी गरी जहाज उडाउने तयारी गरेको छ । यस्तो मोडलमा यसअघि बागलुङ र इलाममा उडान भएको छ ।
तर, ती विमानस्थलले भने पुनः सहज रुपमा यात्रु नपाउँदा अहिले नियमित उडान हुन सकेको छैन । गुल्मीमा भने यात्रु पाउने सम्भावना रहेको स्थानीय सरकार र वायुसेवा कम्पनीको प्रक्षेपण छ ।
काठमाडौंबाट गुल्मी पुग्न कठिन सडक यात्राका कारण सार्वजनिक यातायातमा अहिले झण्डै २४ घण्टा लाग्ने गरेको छ । यद्दपी महँगो इन्धनको मूल्यका कारण यात्रु आकर्षित गर्न चुनौतीपूर्ण देखिने प्रवक्ता बर्तौला बताउँछन् । सानो धावनमार्ग रहेका कारण यहाँ १८ सिट क्षमताको ट्वीनअटर जहाज मात्र उड्न सक्छ ।