आज कर्णालीमा छोरा तिहार मनाउदै

सहयात्रा टिभी

कर्णाली । पुस ११, भाइ तिहार सकिएको दुई महिनापछि आइतबार कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पुस शुक्ल द्वितियाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् ।

यस दिनमा बिहानै आमा र छोरा दुवैले नुहाइधुवाई गरेर छोराहरूले आमाको हातबाट टीका थाप्ने प्रचलन छ । भाइ टीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता गलामा फूलको माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनिरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।

टीका लगाइसकेपछि छोरालाई सुख, शान्ति दीर्घायू र प्रगतिको कामना गर्दै आशिर्वाद दिने गरिन्छ । छोराले पनि आमाको हातबाट टीका र आशिर्वाद ग्रहणपछि दक्षिणाको रूपमा आफूसक्दो पैसा, कपडालगाएतका कोशेली दिएर ढोग्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्लाबाहिर पुगेका छोराहरू पनि आजको दिन जसरी पनि घर आइपुग्ने गर्दछन् ।

कुनै काम विशेषले घर पुग्न नसक्ने छोराहरूले फोनलगायतका विभिन्न माध्यमबाट आशिर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोशेली छुट्याएर राखिदिने गरिन्छ । छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घरघर तथा गाँउबस्तीमा पुगेर भाइ टीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ ।

यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटोलगायतका सार्वजनिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट (पाठीभात) वनभोज जाने गरिन्छ । द्वितियाको दिनमा महिलाहरू पनि सार्वजनिक स्थलमा भेला भएर चुट्किला, देउडा खेलेर रमाइलो गर्ने र एक अर्काको पीरव्यथा साटासाट गर्ने गर्दछन् ।

डोल्पालगायत कर्णालीका अन्य जिल्लामा मात्र मनाइने छोरा तिहार नेपालमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए । परापूर्वकालदेखि मनाउँदै आएको यो तिहारको रौनक पहिलाको जस्तो नभएको उनको भनाइ छ । “पहिलापहिला धेरैजसो मान्छे गाउँघरमै हुन्थे र रौनक पनि त्यत्तिकै हुन्थ्यो । अहिले धेरै मानिस सहरबजार छन्, कतिपय जागिर र काम विशेषले जिल्ला बाहिर छन्, त्यही भएर पनि पहिलाजस्तै रौनक छैन,” देवकोटाले भने ।

“प्रत्येक वर्ष गाउँघरमा मान्छेको जमघट छैन । धेरैजसो छोराहरू बाहिर छन् । त्यसैले छोरा तिहारलगायतका प्राचीन चाडपर्वहरू लोप हुने अवस्थामा छन्,” उनले थपे । भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनिन्छ भने यो तिहारमा खेलिने देउसी फरक ढंगबाट र फरक लयमा खेलिन्छ ।

भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएका सबैजना मिलेर पाठीभात (स्थानीय भाषामा) वनभोज खाने प्रचलन रहेको समेत उनले बताए । छोरा तिहारमा आमा नहुनेहरूले भने स्थानीय मठ मन्दिरमा गएर पुजारीको हातबाट टीका अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।

प्रकाशित : 26 December, 2022

प्रतिक्रिया दिनुहोस्