नक्कली नोट र बाघको छालासहित ५ जना पक्राउ

कैलाली । पुस १२, कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित ५ जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उप–महानगरपालिका-४ बसपार्कबाट उनीहरूलाई १ लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पक्राउ गरिएको हो । धनगढीको साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मुद्राको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा तत्काल प्रहरीकाे टोली खटिईएर जाँदा कैलालीकाे चुरे गाउँपालिकार-६ बस्ने वर्ष ५५ का लालबहादुर साउदको खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली नेपाली दरको नोट ४ थान फेला पारेको हो । साउद नक्कली नोटहरूका सम्बन्धमा सञ्जाल नै रहेको खुल्न गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै, उक्त व्यक्तिहरूको खोज तलास गर्ने क्रममा जिल्ला कैलाली धनगढी उप–महानगरपालिका–१३ राजपुर स्थित एसएस होटेलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका–६ बस्ने वर्ष ३३ को लिलाधार मिश्र, डोटी शिखर नगरपालिका–१० बस्ने वर्ष ३० को करनसिंह धामी र बडिकेदार गाउँपालिका–१ बस्ने वर्ष ५० को मोहनसिंह बोहरा समेतलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा जिल्ला कैलाली धनगढी उप–महानरपालिका –१३ स्थित कोठा भाडामा लिई बस्ने डोटी शिखर नगरपालिका–१० बस्ने वर्ष ३० को करनसिंह धामी बस्ने गरेको डेरा कोठाको डोटी शिखरकै १९ वर्षीय टेकेन्द्र धामीलाई समेत पक्राउ परेका छन् ।
धामी बसेको कोठाको पलङ खटियाको सिरानी मुनि लुकाई राखेको अवस्थामा १ लाख ३८ हजार गरी जम्मा १ लाख ४२ हजार फेला पारेको छ । खानतलासी कै क्रममा सोही खटियाको प्लाई मुनि रहेको बाक्साभित्र जेब्रा झोलामा बाघको जस्तो देखिने अस्थिपञ्जर हड्डीहरू ५ किलो ५ सय ३० ग्राम, बैङ्क तथा आईएमई भौचर तथा चेकहरू, प्लास्टिकभित्र लुकाई छिपाई राखेका अवस्थामा जडिबुडी वनस्पतिका बोक्राहरू (आइएन के) र फलामका टुक्राहरू समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।