जसपाका नेता रामसहाय संसदीय दलको नेतामा निर्विरोध निर्वाचित

काठमाडौं । पुस १३, जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ । एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए ।
अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएपछि एक समूहले संसदमा प्रतिनिधित्व गर्ने अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनु पर्ने बताउँदै आए पनि उनी उम्मेदवार नै बनेनन् । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।