तीन वर्षअघि सुशान्तको रहस्यमय मृत्युको पोस्टमार्टममा शरीरभरि चोटका निशान

सहयात्रा टिभी

काठमाडौं । पुस १३, बलिउड अभिनेता सुशान्त सिंह राजपुतको तीन वर्षअघिको रहस्यमय मृत्युलाई लिएर बलिउड अझै पनि तरंगित छ । यतिबेला आएर उनको मृत्यु नभएर हत्या भएको दाबी भइरहेको छ ।

सुशान्तको मृत्युलाई लिएर कुपर अस्पतालका पोस्टमार्टम कर्मचारीले अर्को चकित पार्ने दाबी गरेका छन् । उनले सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको आँखामा देखिएका केही निशानले कसैले धेरैपटक मुक्का हानेको अनुभूति भएको बताएका छन् ।

योसँगै उनले महाराष्ट्रको अघिल्लो सरकार अर्थात् उद्धव ठाकरेको शिवसेनाको सरकारमाथि पनि प्रश्न उठाएका छन् । भारतीय सञ्चारमाध्यमसँग उनले भने, ‘म सुशान्तको शवलाई पोस्टमार्टम गर्ने टोलीको हिस्सा थिएँ र मैले उनलाई धेरै चोट लागेको देखें ।

उनको केही हड्डी पनि भाँचिएको थियो । त्यतिबेलाको उद्धव सरकारप्रति विश्वास नभएकाले म मिडियाको अगाडि आउन सकिनँ । अहिले सरकार परिवर्तन भएको छ, म सत्य बोल्न चाहन्छु ।

मलाई आफ्नो ज्यानको परवाह छैन, सुशान्तले न्याय पाउनुपर्छ ।’ यस्तो दाबी गर्ने रुपकुमार शाह सोमबार पहिलो पटक मिडियामा देखा परेका थिए ।

अब यस विषयमा सुशान्तका वकिल विकास सिंहको प्रतिक्रिया आएको छ । उनले भने, ‘सुशान्तको शरीरमा चोटका निशान थिए वा थिएनन्, यसबारेमा म स्पष्टसँग केही भन्न सक्दिनँ, तर म भन्छु कि सुशान्तको मृत्युको कारण साधारण आत्महत्या थिएन । यसका पछाडि पक्कै कुनै न कुनै षड्यन्त्र थियो । सीबीआईले मात्रै यो समस्या समाधान गर्न सक्छ ।’

सुशान्त १४ जुन २०२० मा मुम्बईको बान्द्रास्थित घरमा रहस्यमयी रूपमा मृत भेटिएका थिए । पहिलो नजरमा यो घटना आत्महत्या भएको देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । सीबीआईको पछिल्लो प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको थियो ।

जब सीबीआईले यस मामिलाको छानबिन गरिरहेको थियो, त्यसमा लागुऔषधको कोण जोडिएको थियो । यस विषयमा लागुऔषध नियन्त्रण ब्युरोले व्यापक अनुसन्धान गरेको थियो । अनुसन्धानमा लागुऔषध सिन्डिकेटको कुरा पनि खुलेको छ ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सको यो केसमा फसेकी थिइन् । रिया आफैंले सुशान्तलाई ड्रग्स सेवन गरेको र ड्रग्स दिएको आरोप पनि लागेको थियो । यसबाहेक रियाले सुशान्तलाई मानसिक र आर्थिक रूपमा यातना दिने गरेको आरोप पनि सुशान्तका परिवारले लगाएका थिए ।

 

प्रकाशित : 28 December, 2022

प्रतिक्रिया दिनुहोस्