नया सत्ता गठबन्धनको बैठक सुरू, ओली र रवि पनि सहभागी

सहयात्रा टिभी

काठमाडौं । पुस १४, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। बिहीबार बिहान सत्ता गठबन्धनको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन्।

प्रचण्ड ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक अहिलेको सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको हो। यसअघि सत्ता गठबन्धनको बैठक पुस ११ मा नयाँ बानेश्वरमा बसेको थियो।

सरकारमा अहिले ८ जना मन्त्री छन्। सत्ता साझेदार दलबीच कुन मन्त्रालय कसले लिनेलगायत विषयमा भागबन्डा गर्न आज बैठक बसेको हो। माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ। प्रदेशमा एमाले, माओवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

राष्ट्रपति र सभामुख नेकपा एमालेले लिने मौखिक सहमति भएको बताइएको छ। तर अन्य पद कुन दलले लिने भन्नेबारे छलफल भएका छैनन्।साथै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनीनिकट एक नेताले दाबी गरेका छन्।

सरकारका न्युनतम साझा कार्यक्रम तय गरेर जाने विषयमा पनि आज गठबन्धन बैठकमा छलफल गरिने भएको छ। राप्रपालगायत दलले सरकारले न्युनतम साझा कार्यक्रम ल्याउनुपर्ने र त्यहाँ आफूहरूका सर्त समावेश गरिनुपर्ने अडान राखिरहेका छन्।

 

प्रकाशित : 29 December, 2022

प्रतिक्रिया दिनुहोस्