शेयर बजार दोहोरो अङ्कले बढ्यो
काठमाडौँ । पुस १७, हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव २६ अङ्कले बढेर दुई हजार ४६ दशमलव २९ विन्दुमा पुगेको छ ।
आज विकास बैंक र फाइनान्सबाहेक अरू समूहको शेयर बढेकोमा बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।आज दुई सय ६१ वटा कम्पनीका एक करोड आठ लाख ८० हजार कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै नबिल बैंकको २२ करोड ५६ लाख र नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भयो । नेप्से बढेको दिन सृजनशील लघुवित्त, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्सुरेन्स र प्रभु लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढे पनि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमन्ट लिमिटेड र मिथिला लघुवित्तको शेयर भने साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।