डेढ महिना बितिसक्दा पनि न्यायाधीशविरूद्ध बलात्कारको जाहेरी दर्ता बिहीन

सहयात्रा टिभी

काठमाडौं । पुस १८, कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीले आफूलाई बलात्कार गरेको भन्दै उनकी श्रीमतीले गत मंसिर ३ मा जाहेरी दिएकी थिइन्। जाहेरी दिएको डेढ महिना बितिसक्दा पनि प्रहरीले दर्ता भने गरेको छैन।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका डिएसपी मिमबहादुर घलेलाई हामीले जाहेरी दर्ता किन नभएको भनेर केही दिनअघि सोधेका थियौं।आइतबार पनि हामीले यसबारे त्यहाँका एसपी प्रेमबहादुर बस्नेतसँग कुरा गर्‍यौं।

यो जाहेरी किन दर्ता नभएकोु भनेर सोध्दा उनले पनि अनुसन्धान हुँदैछु भन्ने जवाफ दिए। केबारे अनुसन्धान हुँदैछ भन्ने कुराको जानकारी उनीहरूले दिएनन्।

कपिलवस्तु प्रहरीले जाहेरी दर्ता किन नगरेको भन्ने स्पष्ट जवाफ नदिएपछि हामीले प्रहरी हेडक्वाटरका प्रवक्ता टेकप्रसाद राईलाई सोधेका थियौं। सुरूमा उनले पीडित जाहेरी लिएर आउनेबित्तिकै दर्ता गर्नुपर्ने प्रहरीको कर्तव्य रहेको बताए। न्यायाधीश गिरीबारे भने निर्दोषिताको सिद्धान्तअनुसार अहिले अनुसन्धान भइरहेको जानकारी दिए।

पीडितले वैवाहिक बलात्कारको उजुरी लिएर आउँदा त्यसलाई दर्ता नगरी प्रहरीले न्यायाधीश गिरीको निर्दोषिताबारे डेढ महिनादेखि अनुसन्धान गरिरहेको छ। महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले पनि जाहेरीबारे शंका लागे प्रहरीले छानबिन गर्न पाउने तर यति लामो समय लगाउन भने नपाइने बताए।

 

प्रकाशित : 2 January, 2023

प्रतिक्रिया दिनुहोस्