खुलामञ्चमा पार्किङ बनाउने महानगरको योजनाको विरोध गर्दै आन्दोलन

सहयात्रा टिभी

काठमाडौं । पुस १८, खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयबासी र संरक्षण अभियान्ताहरु आन्दोलित भएका छन् ।

टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीयले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

आज बिहान महानगरपालिका कार्यालय अगाडि मानव सांग्लो बनाएर प्रदर्शन गरिएको हो । टुँडिखेललाई पूर्ववत अवस्थामा फर्काउन माग गर्दै यसअघि तीन महिनासम्म ‘अकुपाई टुँडिखेल’ अभियान चलाइएको थियो ।

सो अभियानमा ऐक्यबद्धता जनाउन आज विश्व स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन गरिएको अभियन्ताहरुले बताएका छन् । स्थानीयहरूले काठमाडौं महानगरपालिका मेयर बालन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई भेटेर ज्ञापनपत्र पनि दिंदैछन् ।

यसअघि उनीहरुले सार्वजनिक रुपमा नै योजनामा अघि नबढ्न महानगरपालिकालाई चेतावनी दिंदै आएका थिए । तर, महानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन बनाइछाड्ने बताएपछि आन्दोलन सुरु भएको हो ।

काठमाडौं महानगरपालिका काठमाडौंकै ‘फोक्सो’ भनिने टुँडिखेलको खुलामञ्चभित्र तीनतले भूमिगत पार्किङ बनाउने योजनामा अगाडि बढेको छ ।

नगरविकास कोषलाई अध्ययनको जिम्मेवारी दिएको महानगरपालिकाले यो योजनाबारे स्थानीयस्तरमा कुनै छलफल चलाएको छैन । महानगरपालिकाको यो योजनाले भित्री शहरका जनताले सास फेर्न, कुलपूजा र भोज तथा आम जनताले राजनीतिक कार्यक्रम गर्न जनताले नै जोगाएको खुलामञ्चको अस्तित्वलाई नै जोखिममा पारेको छ ।

महानगरले गुपचुप रूपमा योजना अगाडि बढाएपछि शहरी यातायात विज्ञहरूले यसबारे स्पष्टीकरण मागेका छन् । तर, मेयर साहले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

 

प्रकाशित : 2 January, 2023

प्रतिक्रिया दिनुहोस्