सत्तारूढ गठबन्धनमा सामेल हुन सकिँदैनः माधव नेपाल

सहयात्रा टिभी

काठमाडाै । पुस १८, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको हो। सोमबार(आज)देखि काठमाडौंमा सुरू भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने पनि स्पष्ट पारे।

अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको समेत बताए। मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरू अघि बढ्ने तर आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो।

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरूको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

उनले भने, ‘देशको राजनीतिक आफ्नै जटिलताहरू छन्। हाम्रो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौं। हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौं। नेपाली जनताको भावनालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौं। त्यसो हुनाले यिनै सोच र मान्यताको आधारमा हामी अगाडि बढ्नेछौं। संसदको चुनावभन्दा पहिले २०७७ साल पुस ५ गतेको दिनमा प्रतिनिधि सभाको विघटन भयो। त्यसपछि नेपालको राजनीतिले नाटकीय रूप लियो। त्यसभन्दा पहिले नेकपा एमालेभित्र अन्तर संघर्ष चलिरहेको थियो। त्यो अन्तरसंघर्षलाई त्यहीभित्र बसेर हल गर्ने हाम्रो चाहना थियो। तर त्यो हुन सकेन। किन भएन ? त्यसको हामीपछि समीक्षा गरौंला।’

अध्यक्ष नेपालले आफूहरूबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि चेतावनी दिए।

‘यो आरोप-प्रत्यारोप गर्ने बेला पनि होइन। कसैसामू लत्रिनु परेको पनि छैन। हामीले ठिक गरेको छौं। दृढताका साथ उभिएका छौं। एकले अर्कालाई आरोप-प्रत्यारोप गरेर केही पार लाग्नेवाला छैन। त्यसैले हामी सबै कुराको वस्तुनिष्ठ समिक्षा गर्दै अघि बढन तयार छौं। तथ्य देखाऔं, प्रमाणित गरौं। त्रुटी छन् भने हामी सच्चिन तयार छौं,’ उनले भने, ‘पानी माथिको ओभानो बन्ने काम कसैले पनि नगरे हुन्छ। तपाईंहरूलाई थाहा छ–राष्ट्रिय राजनीति अगाडि बढ्यो। प्रतिनिधि सभा विघटनलाई हामीले प्रतिगामी कदमको रूपमा आलोचना गर्‍यौं। विरोध गर्‍यौं।’

आजदेखि सुरू भएको बैठकमा नेताहरूले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। त्यसैगरी बैठकमा निर्वाचनको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ।

प्रकाशित : 2 January, 2023

प्रतिक्रिया दिनुहोस्