तस्करी आरोपमा कैलालीका सइ र हवल्दार दुईकै जिम्मेवारी खोसेर अनुसन्धान सुरु

काठमाडौँ । पुस २१, जिल्ला प्रहरी कार्यालय कैलालीले तस्करीको सामान ओसारपसार र हप्ता असुलीमा संलग्न भएको आरोपमा दुई जना प्रहरीको जिम्मेवारी खोसेको छ ।
हप्ता असुलीको आरोप लागेका जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी प्रमुख रहेका प्रहरी नायब निरीक्षक (सइ) सुशील चन्द र सहायक हवलदार नन्दराज भट्टको जिम्मेवारी खोसेर उनीहरुमाथि अनुसन्धान सुरु गरिएको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले दुवै जनालाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयमा सादा पोशाकका प्रहरीका रूपमा कार्यरत चन्द र भट्टले कैलालीका विभिन्न क्षेत्रबाट तस्करीको सामान भित्र्याउने गरेको तथा तस्करीमा संलग्न व्यक्तिहरुबाट हप्ता असुली गर्ने गरेको भन्दै कारबाहीको मागसहित बेनामी उजुरी परेको थियो । उक्त उजुरीमा व्यक्तिहरुका नामसमेत उल्लेख गर्दै उनीहरुबाट लिइएको रकम समेत राखिएको छ ।
उजुरी हुला मार्फत जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो भने नेपाल पत्रकार महासंघ कैलाली शाखामा समेत एक प्रति पठाइएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले समेत यो प्रकरणमा छानबिन गर्ने जनाएको छ ।