डोटीको भाइरल झोलुङ्गे पुलमा अवलोकन बापत कर लागू गरेपछि स्थानीयवासी आक्रोसित

सहयात्रा टिभी

काठमाडौँ । पुस २१, डोटीको दिपायलमा निर्माण भएको भाइरल पुलका नामले चिनिँदै आएको झोलुङ्गे पुलको अवलोकन गरे वा पुलमा टिकटक बनाएबापत अब कर तिर्नुपर्ने भएको छ ।

दिपायल सिलगढी नगरपालिकाले झोलुङ्गे पुलको अवलोकन गरेबापत कर उठाउने तयारी गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दिपायल सिलगढी नगरपालिका–५ दुधेश्वर र २ नम्बर वडामा पर्ने कोटभैरव जोड्नका लागि पुल निर्माण भएको हो ।

दुई पर्यटकीय तथा धार्मिक स्थल जोड्ने गरी निर्माण भएको पुल दिपायल घुम्न आउने आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्दै आएको छ ।

नगरपालिकाले अब शुल्क तिरेर मात्रै पुलको अवलोकन गर्न पाइने सूचना निकालेको छ । पुल अवलोकन गरेबापत शुल्क उठाउनका लागि दिपायल सिलगढी नगरपालिकाले यही पुस १२ गते दोस्रो पटक सूचना प्रकाशन गरेको थियो ।

प्रत्येक महिना कम्तीमा पनि पाँच हजार दिनेगरी बढाबढमा प्रतिस्पर्धा हुनेगरी नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशन गरेको हो ।

द्धारीखोला माथि ७० मिटर उचाइ र २ सय मिटर लामो पुलबाट दृश्यावलोकन गरी टिकटक बनाउँदा, भिडियो खिच्दा तथा फोटो खिच्दा शुल्क तिर्नु पर्ने नियम नगरपालिकाले लागू गरेपछि स्थानीयवासी आक्रोसित बनेका स्थानीयवासी रामसिंह कामीले बताउनुभयो ।

पुल अवलोकनका लागि कर तिर्नु पर्ने नियम नगरपालिकाले लागू गरेपछि अहिले सामाजिक सञ्जालहरुमा त्यसको विरोध भइरहेको छ ।

नगरपालिकाले पुलमा जाने आउने पर्यटकका कारण यहाँ निर्माण भएका संरचना भत्किन थालेकाले पुलसहितका अन्य भौतिक संरचनाको संरक्षणका लागि कर उठाउन लागेको जनाएको छ ।

पुल निर्माणका लागि २०७८ असारमा सम्झौता भएको थियो भने देवभूमि कन्स्ट्रक्सन निर्माण सेवाले २०७९ असोजमा पुल निर्माणको काम सम्पन्न गरेको थियो ।

 

 

प्रकाशित : 5 January, 2023

प्रतिक्रिया दिनुहोस्